सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन ।
कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्रमणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजावत भएको छैन । तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ ।चार दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरीय कोभिड विवरणमा छिमेकी मुलुक भारतमा कोभिडको मृत्युदर १.३ प्रतिशत र सक्रिय सङ्क्रमणको दर १.३ प्रतिशत रहेको छ । सो अवधिमा नेपालको मृत्युदर १.४ र सङ्क्रमणको दर दोब्बरले बढेको अवस्थामा ४.९ प्रतिशत रहेको थियो ।