फाइनल लोकेशन सर्भेका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौताको तयारी समेत भएको बुझिएको छ । सर्भे भारत सरकारकै लागतमा हुने बुझिएको छ ।
रक्सौल काठमाडौं रेलमार्ग नाम दिइएको योजनाको चर्चा वर्षौं देखि हुँदै आएको छ । काठमाडौंलाई तराईसम्म जोड्ने यो रेलमार्ग रणनीतिक महत्वको समेत हुनेछ । नेपाल र भारतबीच कनेक्टिभिटी बढाउने उद्देश्यले रेलमार्ग अगाडि बढाउन लागिएको बुझिएको छ ।
३ अर्ब १५ करोड डलर लागत अनुमानको ब्रोड गज रेल्वेलाइनले काठमाडौंलाई भारतको रेल्वे सञ्जालसँग जोड्नेछ । नेपालबाट जमिन सुनिश्चित भएमा रेल्वे सञ्जाल निर्माणमा ५ वर्ष लाग्नेछ । रेल्वेलाइन १३६ देखि १९८ किलोमिटर लम्बाइको हुने अनुमान गरिएको छ ।
सरकारले भारत सरकारसँग सम्झौतामा हस्ताक्षर गर्न मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको छ । भारतको मुम्बई केन्द्रीय कार्यालय भएको कोन्कान रेल्वे कर्पोरेशनले पूर्व सम्भाव्यता अध्ययनको तयारी गरिसकेको छ ।