
इटालीको सिसली द्वीपमा बुधबार तापक्रम ४८.८ डिग्री सेल्सियस पुग्यो । जुन युरोपको आजसम्मकै अत्यधिक गर्मी भएको दिनको रूपमा गनिन सक्छ । यसको पुष्टि विश्व मौसम संस्थानले गर्नेछ ।
संस्थानका अनुसार अहिलेसम्म युरोपमा अत्यधिक तापक्रमको रेकर्ड ४८ डिग्री सेल्सियस रहेको छ । सन् १९७७ मा ग्रिसको राजधानी एथेन्समा तापक्रम ४८ डिग्री सेल्सियस पुगेको थियो ।
लुसिफर नामको एक प्रतिचक्रवात(एन्टीसाइक्लोन) को कारणले इटालीमा भीषण गर्मी भइरहेको छ ।
लुसिफर अझै माथि जाँदै गरेको र इटालीका विभिन्न सहरमा यसै कारणले गर्दा गर्मी बढेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।
इटालीको स्वास्थ्य मन्त्रालयले विभिन्न क्षेत्रमा रेड जोन क्षेत्र घोषणा गरेको छ ।
भीषण गर्मीका कारणले इटालीको विभिन्न क्षेत्रमा रहेका जंगलमा आगलागी पनि भएको छ।
सरकारले जनतालाई गर्मीबाट बच्नका लागि फ्यान, एसी, कुलरको प्रयोग गर्न अनुरोध गरेको छ।