
विराटनगर–१७ इस्लामपुरस्थित नेपाली भूमिमा बनाउन लागेको नाला भारतीय सुरक्षाकर्मीले रोक लगाएको छ । भारतीय बजार जोगवनीबाट बगेर आएको पानी निकासका लागि बनाउन लागिएको नाला भारतीयको अवरोधका कारण निर्माणको काम ठप्प भएको छ ।
भारतीय बजार जोगवनीबाट बगेर आएको पानी निकासका लागि नेपाल–भारत सीमा विराटनगर–१७ इस्लामपुरमा बनाउन लागिएको एक सय मिटर लामो नाला भारतीयको अवरोधका कारण निर्माणको काम ठप्प भएको हो । जोगबनीको दशगजा भन्दा करिब २० मिटर पूर्वमा रहेको इस्लामपुर बस्तीमा नाला निर्माण गर्न खोज्दा भारतीय सीमा सुरक्षा बलले अवरोध गरेको छ ।
नाला निर्माणको कामलाई भारतीय सीमा सुरक्षा बलले अवरोध गरेपछि वर्षायाममा भारततर्फबाट आएको पानीको निकास नहँुदा सो स्थानमा डुबानसमेत हुने गरेको स्थानीय समसुल होदा मियाको भनाइ छ । डुबानबाट जोगाउनका लागि नेपालभित्र इस्लामपुरमा पक्की नाला निर्माणको काम शुरु भएलगत्तै भारतीय एसएसबीले धाकधम्की दिँदै रोक लगाएको उहाँले बताउनुभयो ।
नाला निर्माण गर्न खोज्दा भारतीय सीमा सुरक्षा बलले अवरोध गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङ र भारतीय सीमा सुरक्षा बलबीच छलफल नभएसम्म नालाको काम तत्काल रोकिएको वडाध्यक्ष समिम कमरले जानकारी दिनुभयो । वर्षेनी वर्षायाममा पानी जम्ने भएकाले इस्लामपुरमा नाला निर्माण र ग्राइभेलको काम शुरु गरिएको उहाँले बताउनुभयो । इस्लामपुरमा रहेका ३ सयभन्दा बढी घर–परिवारका मानिस डुबानबाट वर्षेनी पीडित हुँदै आएका छन् ।