
नेपालका लागि जापानी राजदूत किकुता यूताकाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् ।
बुधबार दिउँसो राजदूत किकुताले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।
भेटको अवसरमा राजदूत किकुताले मन्त्री श्रेष्ठलाई बधाइ दिनुका साथै शुभकामना समेत दिएका थिए । यस्तै जापान सरकारले यसअघि झण्डै १६ लाख डोज अस्ट्राजेनेका कोभिड खोप उपलब्ध गराएको बारे पनि भेटको क्रममा छलफल भएको थियो ।
यसका लागि राज्यमन्त्री श्रेष्ठले जापान सरकारलाई धन्यवाद दिएका थिए । कोभ्याक्स सुविधाको खोप छिट्टै नेपाल आइपुग्ने पनि अपेक्षा गरिएको थियो ।
राजदूत किकुताले दुई देशबीचको मित्रताको लामो इतिहास स्मरण गर्दै द्विपक्षीय साझेदारीलाई अझ बलियो बनाउने अपेक्षा गरेका थिए । बुधबार भेटवार्तापछि दुवै पक्षले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।