मंगलबार , बैसाख २९, २०८३

दुई पटकको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकावासीको तिर्खा मेटाउने विषय थप अन्योल बनेको छ ।

असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक संरचनामा क्षति पु¥याएपछि आयोजना नै अनिश्चित भएको छ । लेदोसहितको बाढीले हेडवक्स निर्माणस्थल पुरिएर बगर भएको छ ।

निर्माणस्थलमा पुग्ने सडक, हेडवक्स, पुल र सुरुङको पुनः निर्माण नभई पानी पठाउन सकिने अवस्था छैन । मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, “पुरिएका सबै संरचना सफा गर्नु प¥यो । वैकल्पिक माध्यमबाट पानी पठाउन सकिने अवस्था हो तर त्यो पनि निर्माण गर्नुपर्छ । पहिला सडक बन्नुपर्छ, अब कसरी अगाडि बढ्ने भन्ने कुराको निश्चित भइसकेको छैन ।”

असार १ गतेको भन्दा साउन १७ गतेको बाढी ठूलो रहेको हेलम्बु गाउँपालिकाले जनाएको छ । खोलाले लेदोसहितको माटो बालुवा ल्याएर बगर क्षेत्र विस्तार गरिरहेको छ । खोलाको उचाइ पनि बढाइरहेको छ । जसले गर्दा मेलम्ची आयोजनाका हेडवक्सदेखिका सबै संरचना पुरिएका छन् । नदीले धार परिवर्तन गरेको छ ।

हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले भने, “हिमालको तल्लो भेगमा पहिरो गइरहेका छन् । भेनाथाङमा ठूलो पहिरो गइरहेको छ । अझै ७५ प्रतिशत त्यो पहिरो झर्न बाँकी रहेको भनिएको छ । त्यसले नदी थुनिने, अझै बाढी आउने सम्भावना छ । जुनसुकै बेला पनि बाढी आउन सक्ने अवस्था छ । मेलम्ची आयोजना सबै पुरिएर बगर भएको छ । ”

बाढीले आयोजनाका भौतिक संरचना पुरिएका छन् । पुलहरू बगाएका छन् । निर्माणस्थलमा बालुवा, ढुङ्गा् गिट्टी थुप्रिएर बगर भएको छ । बाढी आउने र पहिरो जाने क्रम नरोकिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । तत्काल निर्माणस्थल पुगेर काम सुरु गर्न सक्ने अवस्था छैन । बाटो अवरुद्ध भएका कारण कुनै पनि औजार लिएर जान सक्ने अवस्था नरहेको पन्तको भनाइ छ ।

उनका अनुसार आयोजना निर्माणस्थलमा पुग्ने पहुँचमार्ग र पुल बाढीले बगाएकाले ट्र्याक खोल्नुपर्ने अवस्था छ । तर वर्षात्मै ट्र्याक खुला गर्न सकिने अवस्था छैन । मेलम्ची बजारदेखि १६ किलोमिटर अगाडि टिम्बुअगरी खण्डमा मोटरबाटो बगाएको छ । सो स्थानमा नयाँ ट्र्याक खोल्नुपर्छ । समितिका अनुसार करिब आठ स्थानमा नयाँ ट्र्याक खुलाउनुपर्नेछ ।
हेडवक्स करिब १५ मिटर पुरिएको समितिले जनाएको छ । हेडवक्समा करिब पाँच लाख घनमिटर गिट्टी, बालुवा र ढुङ्गा थुप्रिएको छ । त्यसलाई हटाउन करिब ४० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । अस्थायी ड्याम र पुलहरू सबै बाढीले बगाएको छ ।

हाल सुरुङभित्र पानी भरिएको छ । अम्बाथानको सहायक सुरुङ टालिएर अवरुद्ध छ । आयोजनामा करिब तीन अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ तर विस्तृत अध्ययन हुन बाँकी नै छ ।

बाढीले आयोजनाको सुरुङमा भने क्षति पु¥याएको छैन । आयोजनाका अनुसार माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्थाबारे अध्ययन नगरी मेलम्ची आयोजना के हुन्छ भन्न सक्ने अवस्था छैन । जुनसुकै बेला लेदोसहितको बाढी आउन सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रको अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता रहेको खानेपानी मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP