शुक्रबार , भाद्र १२, २०८३

जापान, थाइल्यान्ड र मलेसियाले शनिबार कोभिड-१९ का नयाँ संक्रमितहरूको संख्या सार्वजनिक गर्दा एउटा समानता थियो । तीन वटै मुलुकमा अहिलेसम्म कै सबैभन्दा धेरै कोभिड-१९ संक्रमितहरू फेला परेको जानकारी दिइयो । एकै दिन जापानमा १२ हजार तीन सय ४१, थाइल्यान्डमा १८ हजार ९ सय १२ र मलेसियामा १७ हजार सात सय ८६ नयाँ संक्रमित देखा परे । यी तीन मुलुकमा कोभिड संक्रमितहरूको संख्या बढ्नुका कारण डेल्टा भेरिएन्ट रहेको भनिएको छ ।

उता अस्ट्रेलियाको सिड्नीमा पनि स्थिति खराब छ । कोभिड महामारी नियन्त्रणका लागि भन्दै लकडाउन जारी गरिएको छ । सिड्नीसमेतमा गरी पूरा न्यू साउथ वेल्समा दुई सय १० जना नयाँ संक्रमित फेला परेको बताइएको छ । यो तथांक शनिबार बिहान सार्वजनिक गरिएको हो । संक्रमितको संख्या बढ्ने र  लकडाउनको विरोध एकैसाथ भइरहेको छ ।

लकडाउनको विरोधमा प्रदर्शन होला भन्ने डरले शनिबार सिड्नीमा करिब एक हजार प्रहरी खटाइएको रोयटर्सले लेखेको छ । सम्भावित प्रदर्शनलाई रोक्न रेल स्टेशन बन्द गरिएका थिए भने ट्याक्सीहरूलाई सिड्नीको मध्यक्षेत्रमा यात्रु ओराल्न निषेध गरिएको छ ।

अस्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा जस्तै जापानको टोकियोमा पनि लकडाउन छ । ओलम्पिक २०२० जारी रहँदा टोकियोमा चार हजार ५८ नयाँ संक्रमित भेटिएको बताइएको छ । शनिबार टोकियोको स्थानीय निकायले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । तीमध्ये २१ संक्रमित ओलम्पिकसँग सम्बद्ध रहेको बताइएको छ । जुलाई १ यता ओलम्पिकसँग जोडिएका संक्रमितको संख्या दुई सय ४१ पुगिसकेको छ ।

शुक्रबार मात्रै जापानी सरकारले टोकियोमा अगस्टको अन्त्यसम्मका लागि लकडाउनलाई जारी राख्ने निर्णय गरेको थियो । टोकियोमा मात्रै होइन, यस सहर वरिपरिका अन्य क्षेत्रमा पनि लकडाउन हटाइएको छैन ।

गत शनिबार मात्रै टोकियो ओलम्पिक आयोजना समितिले कोभिडसम्बन्धी नियम उल्लघंन गरेको भन्दै केही पाहुनाहरूको अनुमति पत्र खारेज गरेको छ । ओलम्पिक भिलेज छाडेर अन्यत्र घुम्न निस्केपछि ती पाहुनाहरूको ‘एक्रिडेसन कार्ड’ खोसिएको हो । तर ती खेलाडी रहेको वा नरहेकोमा भने केही खुलाइएको छैन । र, कतिजनाले नियम उल्लघंन गरे भन्नेबारेमा पनि केही सूचना दिइएको छैन ।

मलेसियामा कोभिड संक्रमितको संख्या निरन्तर उकालो लागेपछि सरकारको विरोध भइरहेको छ ।  शनिबार एक सयभन्दा प्रदर्शनकारी क्लालम्पुरको मध्य सहरी क्षेत्रमा जम्मा भइ सरकार विरोधी नारा लगाएका थिए । उनीहरूले प्रधानमन्त्री मुयिद्विन यासिनको राजीनामासमेत मागे । उसै पनि ‘असफल सरकार’ ह्यास्ट्याग सामाजिक सञ्जालमा पहिलेबाटै चलिरहेको छ ।

थाइल्यान्डमा कुल संक्रमितको संख्या पाँच लाख ९७ हजार दुई सय ८७ पुगेको छ । नयाँ संक्रमितको संख्या मात्र होइन मृतकको संख्यामा पनि व्यापक वृद्धी भएको छ । शनिबार जारी गरिएको तथ्यांक अनुसार थप एक सय ७८ ले ज्यान गुमाएका छन् । थाइल्यान्डमा संक्रमितको संख्यामा मात्र नभई मृतकको संख्यामा पनि नयाँ रेकर्ड कायम भएको छ ।

यससँगै कोभिडबाट ज्यान गुमाउने थाइ नागरिकको संख्या चार हजार आठ सय ५७ पुगेको छ । थाइल्यान्ड सरकारका अनुसार मुलुकभर फेला परेका नयाँ संक्रमितमध्ये ६० प्रतिशतमा डेल्टा भेरिएन्ट देखिएको छ । राजधानी बेंगककको मात्र कुरा गर्ने हो भने, नयाँ संक्रमितमध्ये ८० प्रतिशत डेल्टासँग जोडिएका छन् । डेल्टा अन्य भेरिएन्ट भन्दा बढी खतरनाक नभए पनि यो अरुभन्दा चाँडो सर्ने बताउँछन्, सुपाटिक सिरिलाक । उनी थाइल्यान्डको स्वास्थ्य विज्ञान विभागका महानिर्देशक हुन् ।

पूर्वी एसियाका जापान, मलेसिया र थाइल्यान्ड मात्र होइन चीन पनि डेल्टासँग क्रसित बनेको छ । उसको पूर्वी भागमा रहेको नानजिङ सहरमा मात्रै जुलाई २० यता एक सय ९० नयाँ संक्रमित फेला परिसकेका छन् । तीनको संक्रमण इतिहास रुसबाट नानजिङ पुगेका हवाईजहाजसँग जोडिएको बताइएको छ । शनिबार सार्वजनिक गरिएको तथ्यांक अनुसार चीनभर दुई सय ६२ नयाँ संक्रमित देखिएका छन् ।

उता भियतनामले पनि कोभिड नियन्त्रणका लागि थप कडाई गर्ने घोषणा गरेको छ । आगामी सोमबारबाट १९ सहर र सबै प्रान्तमा मानिसको चहलपहललाई रोक्न नयाँ नियम लागू गर्ने बताइएको छ । यस्तो कडाई थप दुई साताका लागि लागू गरिने भियतनाम सरकारले शनिबार जनायो ।

पछिल्ला चार साताको तथ्यांक हेर्दा विश्वका विभिन्न भागमा ८० प्रतिशतले संक्रमण बढेको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अढानोनले शुक्रबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन् । ‘कोभिड महामारी नियन्त्रणका लागि हामीले गरेको सबै मेहेनत खेर जाने अवस्था छ । विश्वका धेरै मुलुककाु स्वास्थ्य व्यवस्था ध्वस्त हुने स्थितिमा पुगेको छ,’ टेड्रोसले भने ।

डेल्टा भेरिएन्ट पहिलो पटक भारतमा भेटिएको थियो । यो रुगा वा फ्लुभन्दा छिटो सर्ने बताइएको छ । युएस सेन्टरर्स फर डिजिज कन्ट्रोलका अनुसार खोप लगाएका मानिसमा पनि यो भेरिएन्टको कोभिड–१९ सर्ने र असर अन्य भेरिएन्टको भन्दा खतरनाक हुने बताएको छ ।

यो समाचार इकागजमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 126 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP