नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई हटाउने आदेश दिएर अवैध काम गरेको भन्दै सर्वोच्च अदालतप्रति आक्रोश पोखेका छन् ।
शनिबार एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सर्वोच्चको उक्त फैसलाप्रति असन्तुष्टि जनाएका हुन् । आफ्नो सरकार ढाल्न राष्ट्रपतिलाई दिएको निवेदन अवैैध भएको दाबी गर्दै उनले त्यस्तो काम गर्नेलाई कारबाही गर्नुपर्नेमा अदालतले कारबाही गर्न नमिल्ने भनेर फैसला गरेको भन्दै आपत्ति जनाए ।
“जाली, किर्ते, फटाहा, प्रतिक्रियावादीहरुका दलालले अवैध काम गरेर सरकार ढाल्यो । त्यस्तो काम संसदीय व्यवस्थामा अनुशासनहीन काम हो । त्यो कारबाही गर्नुपर्ने विषय हो,” उनले अदालतको फैसलाप्रति कटाक्ष गर्दै भने, “त्यस्ता तत्वलाई कारबाही गर्न पाईँदैन अदालतले भन्छ । यही व्याख्या सधैँ चल्छ त ?”
दलको ह्वीप उल्लंघन गरेर ‘फ्लोर क्रस’ गर्नेहरुलाई अदालतले कारबाही नगरेकोमा पनि अध्यक्ष ओलीको आपत्ति थियो ।
उनले आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यानुसार काम गरेको जिकिर गरे । मुलुकलाई समृद्ध बनाउन नेपाली जनताले फेरि पनि आफ्नो पार्टीलाई बहुमत दिने उनको दाबी थियो ।