मंगलबार , बैसाख २९, २०८३

पछिल्लो समय नेकपामा चर्किएको अन्तरविरोध र दन्तबझान अब लिखित ‘पत्र–युद्ध’मा परिणत भएको छ । कात्तिक २५ गते प्रधानन्त्री ओलीले प्रचण्डलाई १० पृष्ठ लामो पत्र लेखेपछि त्यसको तीनदिनपछि शुक्रबार प्रचण्डले ओलीलाई ७ पृष्ठको पत्र लेखेका छन् ।

कात्तिक २२ गते प्रचण्डसहित सचिवालयका ५ नेताले बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई बैठक माग गर्दै दुईपृष्ठको पत्र बुझाएका थिए । सोही पत्रको जवाफमा ओलीले २७ गते प्रचण्डलाई पत्र लेखेका हुन् ।

मन्त्रिपरिषद् पुनर्गठन लगायतका काम सहमतिमै भएको तर निश्चित शीर्ष नेताहरुको अतृप्त आंकाक्षाका कारण बलजफ्ती पार्टीमा विवाद सिर्जना गरिएको ओलीको दाबी छ । नेताहरुलाई उनको प्रश्न छ, सरकार परिर्वतनको दौडधूप किन ?’

प्रचण्डसँग सल्लाहमै मन्त्रिपरिषद् पुनगर्ठन

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल र सल्लाह नभएको पाँच नेताको आरोपको खण्डन गरेका छन् ।

आफू र अर्का अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् पुनगर्ठनका तीन विकल्प (पहिलो, सबैलाई राजीनामा गराएर केही पुरानासहित नयाँ नियुक्ति, दोस्रो, एक अवधि पुरा गरेकालाई विदा गरेर नयाँ मन्त्री नियुक्त गर्ने र तेस्रो, खाली रहेका मन्त्रालयमा नियुक्त गरेर दसैं/तिहारपछि विस्तारित रुपमा पुनगर्ठन) मा छलफल भएको प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बताएका छन् ।

प्रचण्डले बेलाबेलामा ‘मलाई फकाउनुस् न, म फकिने मान्छे, फकिन्छु नि’ भन्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले के कसरी र के भन्दा फकिनुहुन्छ भनेर प्रश्न गरेका छन् ।  उनले भनेका छन्, ल मैले फेरि फकाएँ । आउनुस्, गुटबन्दी र दाउपेच छाडौं, पार्टीलाई एकजुट बनाऔं ।’

प्रधानमन्त्री ओलीका अनुसार प्रचण्डले पहिलो विकल्पमा जोड दिएका थिए । तर, आफूले सचिवालयमा रहेका ईश्वर पोखरेल र रामबहादुर थापालाई नचलाऔं भन्दा प्रचण्डले असहमति जनाएको उनले बताएका छन् ।

दोस्रो विकल्पमा केही सम्भावित नाममा प्रचण्डको आपत्ति आएको र त्यो आफूलाई उपयुक्त नलागेको भन्दै ओलीले तेस्रो विकल्पमा प्रचण्ड सहमत भएको दाबी गरेका छन् ।

त्यसै अनुसार आफूले तीन मन्त्री नियुक्त गर्ने तयारी गरेका बेला प्रचण्डले बचन फेर्दै अर्थमन्त्री मात्र नियुक्त गर्नुस् भनेकाले आफूले नरोकेको उनले बताएका छन् ।

पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गर्ने प्रचण्डकै प्रस्ताव भएको ओलीको दाबी छ । मुख्यसचिव नियुक्तिमा सल्लाह गरेको, निवर्तमान मुख्यसचिवलाई प्रचण्डकै सहमतिमा राजदूत प्रस्ताव गरेको ओलीले पत्रमा उल्लेख गरेका छन् ।

दक्षिण अफ्रिकाका लागि राजदूत भने समावेशीतालाई ध्यान दिएर सिफारिस गरेको बताउँदै ओलीले भनेका छन्, ‘पार्टी निर्देशनअनुसार अध्यक्ष प्रचण्डसँग नियमित सल्लाह गरेर सरकार सञ्चालन गर्दै आएको छु ।’ कहीँकतै कमी भएको भए खुला छलफल गरेर सच्याउन तयार रहेको उनले बताएका छन् ।

बरु सरकारले गरेका राम्रा कामहरुको समर्थनमा केही नबोलेको र प्रधानमन्त्रीको हातखुट्टा बाँधने र घेराबन्दी गर्ने काम मात्र भएको उनको गुनासो छ ।

प्रचण्डलाई प्रश्न : आफ्नो भागमा परेको काम गर्नुभयो ?

अध्यक्ष ओलीले आफूमाथि प्रश्न गर्ने नेताहरुलाई आफ्नो जिम्मेवारीचाहिँ कति पूरा गर्नुभएको छ ? भनेर प्रश्न गरेका छन् । ‘कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने जिम्मा पाउनुभएका अध्यक्ष कमरेडले आफ्नो भागमा परेको कामका सन्र्दभमा के गर्नुभयो ? १५ दिनमा सक्ने भनिएको एकीकरणको काम कहाँ पुग्यो ? के मेरा कारण हुन नसकेको हो ? ओलीको प्रश्न छ ।

अहिले पनि हजारौं कार्यकर्ता जिम्मेवारीविहीन रहेको, तर पार्टी सञ्चालन गर्ने जिम्मेवारी पाएका नेताहरु हात बाँधेर बसेको अध्यक्ष ओलीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP