
निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले बल पोसेसनमा पकड जमाएपनि अनुशासित भेनेजुएलाको डिफेन्स तोड्न निकै संघर्ष गर्नुपर्यो । पहिलो अंक जोड्ने लक्ष्यसहित उत्रिएको भेनेजुएलाले पहिलो हाफमा गोल गर्ने निकै कम अवसर दिएको थियो । दोस्रो हाफमा भने फिर्मिनोलो गोल गर्दै ब्राजिललाई अघि बढाए ।
खेलको ६७ औं मिनेटमा फिर्मिनोले भेनेजुएलाको डिफेन्सको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । एभर्टन रिबिएरोको क्रसलाई ओसोरियोले क्लियर गर्न नसक्दा ६ यार्ड बक्सभित्र अनमार्क रहेका फिर्मिनोले सहजै गोलको दिशा दिएका थिए ।
त्यसअघि ब्राजिलले खेलको आठौं मिनेटमा नै अग्रता लिएपनि भीएआरले मान्यता दिएन । रिचार्रलीसनले गोल गएपनि भीएआरले मुभ बुन्ने क्रममा अफसाइड रहेको निर्णय दिएको थियो । पहिलो हाफको अन्त्यतिर ब्राजिलले अग्रता लिने अवसर पाएपनि डग्लस लुइजले अन्तिम प्रहार गर्नुअघि फल पाएपछि भेनेजुएलाले फ्रिकिक क्लियर गर्न सफल रहयो ।

यस जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटमा लगातार तीन जित दर्ता गर्ने एक्लो टोली बनेको छ । तेस्रो चरणको खेल सकिँदा शीर्षस्थानमा रहेको ब्राजिलको ३ खेलमा ९ अंक छ । अर्जेन्टिना ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष ४ टोली स्वत: विश्वकप पुग्दा पाँचौ टोलीले प्लेअफ खेल्नेछ ।
इक्वेडर र उरुग्वे समान ६-६ अंकसहित शीर्ष चारमा अटाएका छन् । पाराग्वे पाँच अंकसहित पाँचौ स्थानमा छ । चिली र कोलोम्बियाको ४-४ अंक छ भने पेरुको १ अंक छ । भेनेजुएला र बोलिभियाले अंकको खाता खोल्न सकेका छैनन् ।