सोमबार , अषोज २६, २०८३

काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँगको अन्तर्संघर्ष पेचिलो बन्दै गएको प्रस्ट संकेत गरेका छन्। बुधबार साँझ पूर्वमाओवादी समूहबाट प्रतिनिधित्व गर्ने युवा र विद्यार्थी संगठनका अगुवाहरूलाई पार्टीभित्रको पछिल्लो अन्तर्संघर्षबारे ‘ब्रिफिङ’ गर्दै ओलीसँगको सम्झौता सहज नभएको बताएका छन्।

पार्टी एकतापछि ओली पार्टी र सरकार दुवैतर्फको नेतृत्वमा पूर्ण असफल भएको भन्दै प्रचण्डले अहिलेको अन्तर्संघर्ष पदीय लेनदन र भागबन्डाको नभएर मूलतः वैचारिक भएको दाबी गरेका छन्। प्रचण्डलाई भेट्न करिब डेढ दर्जन युवा-विद्यार्थी नेता उनको निवास खुमलटार पुगेका थिए।

‘केपीजीले पटक-पटक पूर्वएमाले र पूर्वमाओवादीजस्तो कित्ता बनाएर पार्टी फुटाउन खोज्नुभो, तर पार्टी एकता जोगाएकै मैले र माधवजीले हो। उहाँले त वैशाखमै पार्टी फुटाउन खोज्नुभएको थियो, तर असफल भएपछि अहिले फेरि पूर्वएमाले र पूर्वमाओवादी भनेर कित्ताकाटको अधिकतम कोसिस गरिराख्नुभएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक विद्यार्थी नेताले भने।

‘हामीले नेकपा बनाउन खोजिरहेका छौँ, उहाँले एमाले बनाउन खोजिराख्नुभएको छ। हामी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दल सबैतिर बहुमतमा छौँ। त्यसकारण पार्टी फुटाए ओलीजीले नै फुटाउने हो। यसपटक विगतमा जस्तो उहाँसँग कुनै सम्झौताको सम्भावना छैन, दृढतापूर्वक लडिन्छ। पार्टी कमिटीले गर्ने सबै निर्णय उहाँले पालना गर्नुपर्ने हुन्छ। अब कसैलाई जतिसुकै चारो हाले पनि त्यसको कुनै अर्थ हुनेछैन,’ उनले अगाडि थपे।

उनले अहिलेको अन्तर्संघर्ष मूलतः पार्टीको विधि, नीति, सिद्धान्त र विधान मान्ने कि नमान्ने, मुलुकलाई यथास्थितिमै राख्ने कि जनताको जनवादको कार्यदिशा हुँदै समाजवादतिर लैजाने दुई समूहबीचको भएको पनि प्रस्ट्याएका थिए।

‘अहिलेको संघर्ष विधि मान्ने कि नमान्ने, मुलुकलाई यथास्थितिमा राख्ने कि समाजवादतर्फ लाने संघर्ष हो। यो कुनै नेतृत्व लिने वा दिने प्रश्नसँग जोडिएको छैन। पार्टी एकता गर्दा जनताको जनवादको कार्यदिशा अपनाउने सर्वसम्मत निर्णय भएको हो । त्यसलाई मान्ने कि नमान्ने संघर्ष हो,’ प्रचण्डको भनाइ थियो, ‘त्यसैले निरपेक्ष एकता भनेर मात्र हुँदैन। एकता हुनका लागि पार्टीको निर्णय, घोषणापत्र, विधान मान्नुपर्छ। पार्टी स्थायी कमिटीको निर्णय पालना गर्नुपर्छ, कार्यान्वयन गर्नुपर्छ भन्नेमा हाम्रो जोड हो।’ -नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP