
मकवानपुर । नेकपा एमालेभित्र केपी शर्मा ओली र माधवकुमार नेपालबीच चोचोमोचो मिलेसँगै जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचन प्रभावित हुने भएको छ । काँग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनाइएका डा. खिमलाल देवकोटालाई माधव नेपाल समूहले भोट दिन्छ कि धोका दिन्छ ? अहिले वागमती प्रदेशमा यो प्रश्नले चर्चा पाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पार्टी एकता कायम राख्न जेठ २ गतेको स्थितिमा फर्कने गरी उधारो सहमति भएको छ । तर, केन्द्रीय राजनीतिको यो समीकरणले राष्ट्रियसभाको उपनिर्वाचनमा प्रभाव पर्ने स्पष्ट देखिएको छ ।
जेठ ६ गते हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । माधव नेपाल समूहले एमाले निकट बुद्धिजीवी डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएको छ । तर,नेकपा एमालेको केन्द्रीय राजनीतिमा फेरबदल आएपछि राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार डा. देवकोटा समस्या पर्ने आकलन गर्न थालिएको छ ।
उम्मेदवारीमाथि पुनर्विचार हुँदैन : देवकोटा
डा. देवकोटाले भने कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा मुलुकको प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरूको समर्थन आफूलाई रहेकाले उम्मेदवारी कायम रहने उल्लेख गरेका छन् ।
आफूलाई नेकपा एमालेका नेता तथा कार्यकर्ताले पनि पूर्ण विश्वास र सद्भाव राख्ने भएकाले उम्मेदवारीमाथि पुनर्विचार गर्ने कुरा कल्पनाभन्दा बाहिर भएको उनले बताएका छन् । रातोपाटीसँग कुरा गर्दै डा. देवकोटाले राजनीतिक घटनाक्रमका कारण शुभचिन्तक एवं मतदाताहरुले आफ्नो उम्मेदवारीको विषयमा जिज्ञासा राख्नु स्वाभाविक भएको बताए ।
‘मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि राजनीतिक दलहरु विभाजित हुनुहुँदैन’ देवकोटाले भने, ‘राजनीतिक पार्टी नीति, विधि र पद्दतिमा चल्नुपर्छ । मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरूको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुनर्विचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो ।’