मंगलबार , बैसाख २९, २०८३

नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि सर्वसाधारणका लागि खुला भएको छ ।

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक घोषणा गरे । भोलि आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्थे । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन बन्द छ । २०७७ वैशाख १ गतेको नयाँ वर्षको दिनदेखि श्री सदन खुला गर्ने योजना भए पनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण पछि धकेलिएको थियो ।
आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुने दाहालले बताए । २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्मारक उदघाटन गरे पनि अवलोकनका लागि खुल्ला भएको छैन ।

श्री सदनमा केके छन् ?

भनिन्छ श्री सदन राजा वीरेन्द्रकै डिजाइनमा बनाइएको थियो । २०२३ सालमा बनेको यो तीन तले भवनमा १२ वटा कोठा छन् । भुइँतलामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको निजी कार्यालय थियो । भान्सा कोठा, खाना खाने कोठा, मदिरा पिउने बार र विश्राम गर्ने कोठा पनि भुइँतलामै छ ।

तत्कालीन युवराज दीपेन्द्र पनि भुइँतलामै बस्दथे । उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए । त्यसपछि उनको कोठा खाली थियो ।

श्री सदनको पहिलो तलामा राजा वीरेन्द्र सुत्ने कोठा र रानी ऐश्वर्यको कोठा छन् । रानी ऐश्वर्यको कोठामा उनले हेर्ने गरेको टेलिभिजन, गीतका क्यासेट र क्यासेट प्लेयर छन् ।

दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठा छन् ।

यसैगरी तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी पनि अवलोकन गर्न पाइने छ । त्यहाँ दीपेन्द्र, श्रुती र निराजनका खेलौना गाडीहरु पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न पाइने छ ।

श्रीसदनबाटै गणतन्त्र स्मारकमा जान सकिन्छ । तर अहिले बीचमा पर्ने टुकुचा खोलामा पुल नबनिसकेकाले नारायणहिटी दरबारबाट बाहिरिएर नागपोखरी नजिकको पूर्वी गेटबाट गणतन्त्र स्मारक प्रवेश गर्नुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP