काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले वर्तमान सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका बुबाको राजनीतिक आबद्धता र विगतमा प्राप्त लाभबारे प्रश्न उठाएकी छन्।
झाँक्रीका अनुसार शिक्षामन्त्री पोखरेलका बुबा लामो समयदेखि एमालेसँग आबद्ध व्यक्ति रहेको र एमाले सरकारको कार्यकालमा सबैभन्दा बढी लाभ लिने व्यक्तिमध्ये उहाँ पनि रहेको आफूले जानकारी पाएको बताएकी छन्।
उनले यस विषयलाई जेन–जी आन्दोलनको उद्देश्य र परिवर्तनको नारासँग जोड्दै टिप्पणी गरेकी छन्।
‘तेरो बाउ गाडीमा, मेरो बाउ खाडीमा’ भन्ने जेन–जी युवाहरूको नारा र सपनामाथि नै तुषारापात भएको उनको भनाइ छ।
झाँक्रीले जेन–जी युवाहरूले खोजेको परिवर्तन के थियो भन्ने प्रश्न गर्दै सिंहदरबारबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनु मात्रै उनीहरूको उद्देश्य नभएको बताएकी छन्।
उनले भनिन्, ‘केपी ओलीलाई हटाउनकै लागि त्यत्रो संरचना जलाउनुपर्ने पनि थिएन होला।’
उनको टिप्पणीले जेन–जी आन्दोलनको मूल उद्देश्य, राजनीतिक नेतृत्वको जवाफदेहिता र आन्दोलनपछि अपेक्षित परिवर्तनका विषयमा पुनः बहस सिर्जना गरेको छ।











