अस्ट्रेलियाको नर्दन टेरिटोरी (एनटी) मा सञ्चालन हुँदै आएको चर्चित ‘मिलियन डलर बारामुन्डी’ प्रतियोगितामा डार्विनका २६ वर्षीय म्याथ्यु मौरिसले १० लाख अस्ट्रेलियन डलर जितेका छन्। बिहीबार राति कोर्रोबोरी बिलाबङमा माछा मार्ने क्रममा उनले ८१ सेन्टिमिटर लामो ट्याग लगाइएको बारामुन्डी समातेपछि उक्त पुरस्कार जितेका हुन्।
१२ वर्षदेखि सञ्चालन हुँदै आएको यस प्रतियोगितामा एक मिलियन डलरको पुरस्कार जित्ने म्याथ्यु दोस्रो व्यक्ति बनेका छन्। यसअघि सन् २०२४ मा केगन पेनले पहिलो पटक एक मिलियन डलरको ट्याग लगाइएको माछा समातेका थिए।
म्याथ्युले माछा समातेको स्थानसमेत सार्वजनिक गरेका छन्। उनका अनुसार कोर्रोबोरी बिलाबङको डुङ्गा राख्ने र्याम्पबाट केही सय मिटर पर पहिलो चोक आसपास उनले माछा समातेका हुन्। उनले ‘ज्याकल’ नामक साइलेन्ट सस्पेन्डेड जर्क बेट प्रयोग गरेका थिए।
म्याथ्यु पछिल्लो तीन वर्षदेखि आफ्ना मिल्ने साथी कुपरसँग लगभग हरेक सप्ताहन्त कोर्रोबोरीमा माछा मार्न जाने गरेका थिए। यसपटक भने उनी भाइसँग माछा मार्न गएका थिए। यात्राका क्रममा एक मिलियन डलरको माछा समात्न सकिने सम्भावनाबारे कुराकानी भए पनि उनीहरूले त्यसलाई वास्तविक रूपमा लिएका थिएनन्।
पुरस्कार जितेको खबर उनले सबैभन्दा पहिले आमालाई फोन गरेर दिएका थिए। उनकी आमा क्यारोलिन त्यसबेला भर्जिनिया टाभर्नमा स्तन क्यान्सर सहयोगार्थ आयोजित कार्यक्रममा सहभागी थिइन्। छोराले ‘ममी, मैले १० लाख डलर जितेँ’ भनेपछि आफूले विश्वास गर्न नसकेको र खुसीले चिच्याएको उनले बताएकी छन्।
म्याथ्युले माछा समातेको क्षण पश्चिम अस्ट्रेलियाबाट घुम्न आएका र्याचेल र ड्यारेन प्लेनले भिडियोमा कैद गरेका थिए। उनीहरू साथीहरूसँग कोर्रोबोरी बिलाबङमा हाउसबोट क्रुजमा रहेका बेला राति करिब ११ बजे उक्त घटना भएको थियो।
प्रतियोगिता आयोजक स्पोर्ट्सबेटका नर्दन टेरिटोरी सञ्चालन प्रमुख थाइस बोर्सका अनुसार प्रतियोगितामार्फत हालसम्म १ लाख ३० हजार डलरभन्दा बढी रकम विभिन्न परोपकारी संस्थालाई प्रदान गरिएको छ। म्याथ्युले माछा समातेपछि सर्फ लाइफ सेभिङ एनटीले पनि १० हजार डलर सहयोग प्राप्त गरेको छ।
एनटीकी मुख्यमन्त्री लिया फिनोचियारोले मुख्य पुरस्कार जितिए पनि प्रतियोगिता आगामी मार्चको अन्त्यसम्म जारी रहने बताएकी छन्। उनका अनुसार टप एन्ड क्षेत्रका विभिन्न जलक्षेत्रमा अझै ९६ वटा ट्याग लगाइएका माछा रहेका छन्।











