शुक्रबार , मंग्सिर १२, २०८३

एजेन्सी । शिक्षा क्षेत्रमा बजेट कटौती, आवासको बढ्दो मूल्य, बेरोजगारी र भ्रष्टाचारविरुद्ध युरोपका विभिन्न देशमा नयाँ पुस्ता अर्थात् जेनेरेसन–जी (जेनजी) का युवाहरू सडकमा उत्रिएका छन्। फरक–फरक मुद्दाबाट सुरु भएका प्रदर्शनले अहिले युरोपभरि पुस्तान्तरणसँग जोडिएको असन्तुष्टि उजागर गर्न थालेका छन्।

युवाहरूको बढ्दो आक्रोशले युरोपेली सरकारहरूमाथि राजनीतिक दबाबसमेत बढाएको छ। स्पेनमा ज्येष्ठ नागरिकलाई घरबाट हटाइएका घटनाको विरोधदेखि फ्रान्समा शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्दै विद्यार्थीले गरेका प्रदर्शनसम्मका गतिविधि देखिएका छन्। अल्बानियामा भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग जोडिएको विलासी विकास परियोजनाको विरोधमा विद्यार्थीहरू आन्दोलनरत छन्।

आन्दोलनका तत्कालीन कारण फरक भए पनि युवाहरूको साझा चिन्ता भविष्यप्रतिको अनिश्चितता हो। अभिभावकको पुस्ताले पाएका अवसर आफूहरूले नपाउने हो कि भन्ने चिन्ताले नयाँ पुस्तालाई सडकमा ल्याएको छ।

यी प्रदर्शनले एकअर्कालाई समेत प्रभावित पारिरहेका छन्। इटाली र ग्रिसका प्रदर्शनकारीले आफ्ना नारामा फ्रान्सको आन्दोलनलाई जोडिरहेका छन् भने स्पेनबाट सुरु भएको आवाससम्बन्धी प्रदर्शन पोर्चुगलसम्म फैलिएको छ।

फ्रान्सको प्रमुख विद्यार्थी युनियन ‘युनेफ’ की उपाध्यक्ष एलिस डि ब्रिटोका अनुसार युरोपभरिका विद्यार्थी संगठनहरूबीच अनुभव आदानप्रदान भइरहेको छ। शिक्षा, विश्वविद्यालय तथा युवा पुस्तामा लगानी, जीवनयापनको बढ्दो लागत र आवासको समस्या सबै देशका युवाको साझा सरोकार बनेको उनको भनाइ छ।

इटालीकी विद्यार्थी युनियनकी नेता सब्रिना ब्रिजोलाले पनि सुरक्षित विद्यालय, सम्मानजनक रोजगारी, सार्वजनिक स्वास्थ्य सेवा र सामाजिक न्यायका लागि युवाहरूलाई एकजुट हुन आह्वान गरेकी छन्।

‘द युरोपियन करेस्पोन्डेन्ट’का प्रधान सम्पादक जुलियस फिन्टेलम्यानका अनुसार यी प्रदर्शनले युरोपेली राजनीतिले नयाँ पुस्ताको अपेक्षाअनुसार परिणाम दिन नसकेको जनभावना प्रतिबिम्बित गर्छन्।

शिक्षा र आवासको समस्यासँगै अनिश्चित रोजगारी बजारले पनि युवाहरूको असन्तुष्टि बढाएको छ। कृत्रिम बौद्धिकता (एआई) को विस्तारले प्रवेश तहका रोजगारी प्रभावित भइरहेका छन् भने जलवायु सङ्कटले नयाँ पुस्ताको चिन्ता थपेको छ। उदार लोकतन्त्रले अघिल्लो पुस्ताभन्दा राम्रो जीवनको अवसर दिने वाचा पूरा गर्न नसकेको फिन्टेलम्यानको विश्लेषण छ।

आन्दोलनबाट प्रभावित ग्रिस, इटाली, फ्रान्स, बेल्जियम, स्पेन र पोर्चुगलजस्ता युरोपेली संघका देशहरू आर्थिक सुस्तता र उच्च राष्ट्रिय ऋणको दबाबमा छन्। फ्रान्समा सरकारी ऋणपत्रको प्रतिफल सन् २००२ यताकै उच्च बिन्दुमा पुगेको छ। यसले सरकारी बजेटमाथिको दबाब थप बढाएको छ।

शिक्षामा लगानी र रोजगारीको माग

फ्रान्समा पछिल्ला नौ वर्षदेखि सेप्टेम्बर र अक्टोबरमा विद्यार्थी प्रदर्शन हुँदै आएका छन्। तर, यस वर्ष आन्दोलन थप चर्किएको छ।

विद्यार्थीहरूले कक्षाकोठामा विद्यार्थी सङ्ख्या घटाउनुपर्ने, शिक्षकका लागि बजेट बढाउनुपर्ने, जलवायु सङ्कटसँग जुध्ने पूर्वाधारमा लगानी गर्नुपर्ने र युवामाथि हुने प्रहरी हिंसा अन्त्य गर्नुपर्ने माग अघि सारेका छन्।

शिक्षाको मुद्दाले युरोपका विभिन्न देशका विद्यार्थीलाई एकै ठाउँमा जोडेको छ। ग्रिसको एथेन्सस्थित संसद् भवनबाहिर हजारौँ विद्यार्थी र शिक्षकले ‘ग्रिसदेखि फ्रान्ससम्म, हामी सार्वजनिक र निःशुल्क शिक्षा चाहन्छौँ’ भन्ने नारासहित प्रदर्शन गरेका छन्।

इटालीको रोममा उच्च माध्यमिक विद्यालय कब्जा गरेका विद्यार्थीहरूले जारी गरेको वक्तव्यको पहिलो हरफमै ‘फ्रान्समा जस्तै’ भन्ने उल्लेख गरेका थिए।

यद्यपि, इटाली सरकारले फ्रान्सको आन्दोलनसँग आफ्नो देशको अवस्थालाई जोड्न अस्वीकार गरेको छ। इटालीका शिक्षामन्त्री जुसेप्पे वाल्दिताराले आफ्नो देशको अवस्था फ्रान्सको भन्दा निकै फरक रहेको दाबी गरेका छन्।

आवास संकटले जोड्यो सीमापारिका युवा

आवासको बढ्दो लागत युरोपभरिका युवालाई एकजुट बनाउने अर्को प्रमुख मुद्दा बनेको छ।

स्पेनमा सेप्टेम्बरमा चर्किएको आवाससम्बन्धी आन्दोलनले सरकारमाथि राजनीतिक दबाब बढाएको छ। रोममा अध्ययनरत विद्यार्थीहरूले पनि किफायती आवासलाई गुणस्तरीय शिक्षाबाट अलग राख्न नमिल्ने बताएका छन्।

आवासको मुद्दामा विद्यार्थी मात्रै नभई अन्य क्षेत्रका मानिसहरू पनि जोडिन थालेका छन्। इटालीमा इन्धनको बढ्दो मूल्यबाट असन्तुष्ट ट्रक चालकहरूले गरेको नाकाबन्दीले अत्यावश्यक खाद्य वस्तुको आपूर्तिमा समेत असर पारेको छ।

पोर्चुगलको राजधानी लिस्बनस्थित रोसियो स्क्वायरमा हरेक साँझ हजारौँ मानिस भेला भएर प्रदर्शन गरिरहेका छन्। ‘कासास पारा मोरार’ अर्थात् ‘बस्नका लागि घर’ भन्ने नारासहित उनीहरूले घरभाडा वृद्धिमा सीमा तोक्नुपर्ने र बहालखाली गराउन सहज बनाउने नयाँ कानुन खारेज गर्नुपर्ने माग राखेका छन्।

अल्बानिया र सर्बियामा भने भ्रष्टाचारविरोधी अभियान आन्दोलनको मुख्य मुद्दा बनेको छ। यी प्रदर्शनले दुवै देशका सरकारमाथि राजनीतिक दबाब सिर्जना गरेका छन्।

अल्बानियामा प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री एदी रामाले राजीनामाको माग अस्वीकार गरेका छन्। उनले आन्दोलनबाट उत्पन्न अशान्तिका लागि राजनीतिक प्रतिद्वन्द्वीलाई दोष दिएका छन्।

सर्बियामा दुई वर्षदेखि विद्यार्थीको नेतृत्वमा आन्दोलन जारी छ। उक्त आन्दोलनले देशको राजनीतिक नेतृत्वमाथि दबाब सिर्जना गरेको छ।

यसैबीच, फ्रान्सका पेरिस, मार्सेली, लियोन, लिल, ओर्लियन्स र बोर्डोलगायत सहरमा दसौँ हजार प्रदर्शनकारी सडकमा उत्रिएका छन्। युनेफको आयोजनामा पेरिसमा भएको जुलुसमा प्रमुख ट्रेड युनियन सीजीटी, किसान, जलवायु अभियन्ता र ‘येलो भेस्ट’ आन्दोलनका सहभागीले समेत समर्थन जनाएका छन्। प्रदर्शनलाई ध्यानमा राख्दै अधिकारीहरूले व्यापक प्रहरी परिचालन गरेका छन्।

जर्मनीमा पनि फैलियो जेनजी आन्दोलन

युरोपका विभिन्न देशमा फैलिएको जेनजी आन्दोलनको प्रभाव जर्मनीमा पनि देखिएको छ। ‘जेनजी रेगेल्ट’ अर्थात् ‘जेनजीले जिम्मा लिन्छ’ नामक अभियान समूहको आह्वानमा जर्मनीका ३४ भन्दा बढी सहरमा हजारौँ युवा तथा विद्यार्थी सडकमा उत्रिएका थिए।

शनिबार दिउँसो शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन रात परेसँगै केही सहरमा हिंसात्मक बनेको थियो। जर्मनीको वित्तीय केन्द्र फ्र्यांकफर्टमा प्रदर्शनकारीहरूले विभिन्न पसलमा तोडफोड र लुटपाट गरेका थिए। राजधानी बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।

चान्सलर फ्रिड्रिख मर्त्जको मध्य–दक्षिणपन्थी क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) का नेताहरूले आगामी साताको अन्त्यमा पनि यस्तै घटना दोहोरिन सक्ने चेतावनी दिएका छन्।

प्रदर्शनअघि नै सामाजिक सञ्जालमा फ्रान्समा भएका हिंसात्मक घटनाका भिडियोहरू फैलिएका थिए। सम्भावित तोडफोड र लुटपाट रोक्न केही पसलले आफ्ना सिसा तथा झ्यालमा काठका फल्याक राखेका थिए भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो।

हेसे राज्यका गृहमन्त्री रोमन पोसेक र सीडीयूका नेताहरूले जर्मनीमा फ्रान्समा जस्तै आगजनी, लुटपाट र प्रहरीमाथि आक्रमणका घटना हुन नदिने बताएका थिए।

तर, प्रहरी अधिकारी र प्रहरी संगठनहरूले साँझ भएका हिंसात्मक घटनामा मूल जेनजी प्रदर्शनकारीभन्दा मास्क लगाएका बाहिरी वामपन्थी अतिवादी समूहको संलग्नता रहेको बताएका छन्।

आयोजक समूह ‘जेनजी रेगेल्ट’ ले पनि हिंसाको निन्दा गर्दै फ्रान्स र बेल्जियममा देखिएको विनाशकारी प्रदर्शन आफ्नो आन्दोलनको उद्देश्य नभएको स्पष्ट पारेको छ। समूहले हिंसात्मक घटनामा अतिवादी समूहहरू जिम्मेवार रहेको दाबी गरेको छ।

समूहकी प्रवक्ता लिना फ्रिड्रिखले आन्दोलनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताको पक्षमा आवाज उठाउनु रहेको बताएकी छन्।

‘हामी यहाँ युद्ध र जबर्जस्तीको सट्टा शान्ति र स्वतन्त्रताका लागि लड्न आएका हौँ। हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा स्वास्थ्य र शिक्षा प्रणालीमा राम्रो सहयोग हो। हामी अनिवार्य सैन्य सेवाको विपक्षमा छौँ र आर्थिक भारको न्यायोचित वितरणको पक्षमा छौँ,’ उनले भनेकी छन्।

युरोपका विभिन्न देशमा फरक–फरक मुद्दाबाट सुरु भएका जेनजी प्रदर्शनले अन्ततः शिक्षा, आवास, रोजगारी, सार्वजनिक सेवा र आर्थिक न्यायका विषयमा नयाँ पुस्ताको साझा असन्तुष्टि उजागर गरेका छन्। अवसरको समानता, भविष्यको सुरक्षा र राज्यको जवाफदेहिताको माग गर्दै सडकमा उत्रिएको यो पुस्ताको आवाजले युरोपेली राजनीतिक नेतृत्वमाथि नयाँ चुनौती खडा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP