डार्विन । नर्दन टेरिटोरी (NT) सरकारले विकासमा ढिलाइ वा अटिजम भएका बालबालिकालाई प्रारम्भिक चरणमै सहयोग उपलब्ध गराउने उद्देश्यले नयाँ ‘थ्राइभिङ किड्स’ कार्यक्रम सुरु गरेको छ।
अष्ट्रेलिया सरकार र नर्दन टेरिटोरी सरकारको संयुक्त ३ करोड ४० लाख अष्ट्रेलियन डलरको पाँचवर्षे लगानीमा कार्यक्रम अघि बढाइएको हो। अक्टोबर १ देखि चरणबद्ध रूपमा सुरु भएको कार्यक्रम १ जनवरी २०२८ सम्म पूर्ण रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ। यसबाट ८ वर्ष वा सोभन्दा कम उमेरका बालबालिका लक्षित हुनेछन्।
एनटीका डिसएबिलिटी मन्त्री जिन्सन चार्ल्सले कमदेखि मध्यम स्तरको सहयोग आवश्यक पर्ने बालबालिकालाई औपचारिक निदानको प्रतीक्षा नगरी सहायता उपलब्ध गराउने कार्यक्रमको उद्देश्य रहेको बताए।
“यो NDIS को विकल्प होइन। यो बालबालिकालाई निदानबिना नै आवश्यक सहयोगमा पहुँच दिलाउने हाम्रो प्रयास हो,” मन्त्री चार्ल्सले भने।
उनका अनुसार विशेषगरी दुर्गम क्षेत्रका धेरै परिवारले बालबालिकाको विकाससम्बन्धी औपचारिक निदान र विशेषज्ञ सेवाका लागि लामो समय कुर्नुपर्ने अवस्था छ। ‘थ्राइभिङ किड्स’ले त्यस्ता बालबालिकालाई प्रारम्भिक चरणमै सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ।
कार्यक्रमअन्तर्गत बालबालिकाको विकासमा समस्या देखिएमा अभिभावक, हेरचाहकर्ता, शिक्षक तथा स्वास्थ्यकर्मीले Children’s Development Team मा रेफर गर्न सक्नेछन्।
कार्यक्रमका लागि वार्षिक करिब ६८ लाख डलर खर्च हुने र ठूलो हिस्सा Children’s Development Team तथा एलाइड हेल्थ जनशक्ति विस्तारमा लगानी गरिने बताइएको छ।
Community Allied Health की Senior Manager किम क्लेवर्थले नयाँ कार्यक्रमले एनटीमा पहिलेबाट सञ्चालनमा रहेका बाल विकास सेवाहरूलाई थप विस्तार गर्ने बताइन्।
डार्विन र एलिस स्प्रिङ्सका परिवारले अनलाइन रेफरल फारम वा १८०० नम्बरमार्फत सेवा लिन सक्नेछन्। दुर्गम क्षेत्रमा भने बहुविषयगत स्वास्थ्य टोलीले थप नियमित भ्रमण गर्ने व्यवस्था मिलाइनेछ।
कार्यक्रममार्फत स्पिच प्याथोलोजिस्ट, अकुपेसनल थेरापिस्ट र फिजियोथेरापिस्ट जस्ता विशेषज्ञ सेवामा पहुँच विस्तार गरिनेछ। साथै बालरोग विशेषज्ञ, मनोवैज्ञानिक तथा डाइटिसियनसँगको समन्वय पनि बलियो बनाइनेछ।
बालबालिका र परिवारको आवश्यकता अनुसार सेवा घर, चाइल्डकेयर सेन्टर, प्रिस्कुल तथा विद्यालयमै उपलब्ध गराउन सकिनेछ।
एनटी सरकारको कार्यक्रमसम्बन्धी परामर्श प्रक्रिया अक्टोबर १८ सम्म जारी रहनेछ। मन्त्री चार्ल्सका अनुसार संघीय सरकारबाट आवश्यक सूचना तथा वित्तीय व्यवस्थाको प्रतीक्षा गर्नुपरेकाले एनटीमा कार्यक्रम अघि बढाउन केही समय लागेको हो। उनले अक्टोबर १ लाई नयाँ प्रणाली निर्माणको १५ महिनाको प्रक्रियाको पहिलो दिनका रूपमा वर्णन गरेका छन्।
@Pic & News Source : Jinson Anto Charls MLA Social Media











