डार्विन । अस्ट्रेलिया सरकारले भिसाको म्याद सकिएपछि पनि देशमा बसिरहेका करिब ७७ हजार गैरकानुनी गैरनागरिक (visa overstayers) माथि कडाइ गर्ने भएको छ।
गृहमामिला तथा आप्रवासनमन्त्री टोनी बर्कले सेप्टेम्बर १७ मा नेसनल प्रेस क्लबमा नयाँ आप्रवासन नीतिबारे जानकारी दिँदै ओभरस्टे गर्नेहरूलाई स्वदेश फर्काउने प्रक्रिया तीव्र बनाइने बताएका छन्। सरकारको योजनाअनुसार थप १०० जना कम्प्लायन्स अधिकारी परिचालन गरिनेछ भने करिब २५० डिटेन्सन बेड थपिनेछन्।
मेलबर्नको पूर्व क्वारेन्टाइन सुविधालाई आवश्यकताअनुसार डिटेन्सन प्रयोजनमा प्रयोग गर्न सकिने सम्भावनाबारे पनि सरकारले अध्ययन गरिरहेको छ। मन्त्री बर्कका अनुसार यी २५० बेड स्थायी रूपमा २५० व्यक्तिका लागि मात्र हुने होइनन्; छोटो समयमै व्यक्ति स्वदेश फर्किएपछि ती बेड पुनः प्रयोग हुनेछन्।
बर्कले यो प्रक्रिया अन्य देशमा देखिने आक्रामक शैलीको कारबाहीजस्तो नहुने बताएका छन्। उनका अनुसार सरकारको उद्देश्य ओभरस्टे गर्नेहरूलाई स्वेच्छिक रूपमा अस्ट्रेलिया छाड्न प्रोत्साहित गर्नु पनि हो। उनले २०१५ अघि अस्ट्रेलियामा ओभरस्टे गर्नेहरूलाई डिटेन्सनमा राखेपछि धेरैले केही सातामै आफ्नै खर्चमा फर्किने गरेको उदाहरण दिएका छन्।
सरकारले भिसाको म्याद सकिएपछि अर्को वैध भिसा नभए अस्ट्रेलिया छाड्नुपर्ने स्पष्ट सन्देश दिएको छ।











