सिड्नी — अस्ट्रेलियाको जनसंख्या पछिल्लो एक वर्षमा ३ लाख ९२ हजार ७ सयले बढेको छ। अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (ABS) का अनुसार सन् २०२५ मार्चदेखि २०२६ मार्चसम्मको अवधिमा देशको जनसंख्या वृद्धिमा आप्रवासनको प्रमुख योगदान रहेको छ।
ABS का अनुसार ३१ मार्च २०२६ सम्म अस्ट्रेलियाको कुल जनसंख्या २ करोड ७९ लाख २१ हजार १ सय ५० पुगेको छ। एक वर्षको अवधिमा कुल जनसंख्या १.४ प्रतिशत अर्थात् ३ लाख ९२ हजार ७ सयले बढेको हो।
उक्त अवधिमा शुद्ध विदेशी आप्रवासन (Net Overseas Migration) बाट मात्रै २ लाख ९२ हजार १ सय मानिस अस्ट्रेलियाको जनसंख्यामा थपिएका छन्। यो अघिल्लो १२ महिनाको तुलनामा १७ हजार ४ सय अर्थात् ५.६ प्रतिशत कम हो।
त्यस्तै, जन्म र मृत्युदरको अन्तरबाट हुने प्राकृतिक जनसंख्या वृद्धि १ लाख ६ सय रहेको ABS ले जनाएको छ। यस अवधिमा २ लाख ९२ हजार ५ सय जन्म र १ लाख ९१ हजार ९ सय मृत्यु दर्ता भएका थिए।
ABS का जनसंख्या तथ्यांक प्रमुख ब्योर्न जार्विसका अनुसार मार्च २०२५ देखि मार्च २०२६ सम्मको जनसंख्या वृद्धिमा आप्रवासनबाट मात्रै २ लाख ९२ हजार १ सय मानिस थपिएका हुन्। कुल जनसंख्या वृद्धिको करिब ७४ प्रतिशत हिस्सा शुद्ध विदेशी आप्रवासनबाट आएको देखिन्छ।
यस अवधिमा अस्ट्रेलियामा सबैभन्दा तीव्र जनसंख्या वृद्धि वेस्टर्न अस्ट्रेलियामा २.१ प्रतिशत भएको छ। भिक्टोरियाको जनसंख्या १.६ प्रतिशत र क्वीन्सल्यान्डको १.६ प्रतिशतले बढेको छ। नर्दर्न टेरिटोरीको जनसंख्या पनि १.५ प्रतिशतले वृद्धि भएको ABS तथ्यांकमा उल्लेख छ।
ABS ले प्रयोग गर्ने ‘नेट ओभरसिज माइग्रेसन’ भनेको अस्ट्रेलिया आउने र अस्ट्रेलियाबाट बाहिरिने दीर्घकालीन जनसंख्याबीचको अन्तर हो; यो केवल भिसा पाउने वा देश प्रवेश गर्ने व्यक्तिको संख्या मात्र होइन।










