उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आवेदन दिने विदेशी विद्यार्थीको भिसा अस्वीकृति दर पछिल्लो दशकयताकै उच्च तहमा पुगेको छ।
डिपार्टमेन्ट अफ होम अफियर्सको तथ्यांकलाई उद्धृत गर्दै अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (ABC) ले प्रकाशित गरेको रिपोर्टअनुसार, सन् २०२६ को जुनसम्म विद्यार्थी भिसा अस्वीकृति दर २४.२ प्रतिशत पुगेको छ। यो दर सन् २०२५ को जुन महिनामा ७.९ प्रतिशत रहेको थियो।
विद्यार्थी भिसा अस्वीकृत हुने दर बढेसँगै अस्ट्रेलियामा अध्ययनका लागि आवेदन दिने विद्यार्थीमाझ चिन्ता बढेको छ। विशेषगरी नेपाल, भारत, बंगलादेश, फिलिपिन्स र पाकिस्तानजस्ता देशबाट आएका आवेदनमा अस्वीकृतिको संख्या उल्लेख्य रहेको बताइएको छ।
अस्ट्रेलियाले पछिल्ला वर्षमा विद्यार्थी भिसा प्रणालीलाई थप कडाइ गर्दै आएको छ। Genuine Student (GS) requirement अन्तर्गत विद्यार्थीले अस्ट्रेलियामा अध्ययन नै आफ्नो मुख्य उद्देश्य भएको प्रमाणित गर्नुपर्ने व्यवस्था छ। साथै, आफ्नो अध्ययन छनोट, व्यक्तिगत परिस्थिति, आर्थिक अवस्था र भविष्यमा उक्त अध्ययनबाट हुने लाभबारे स्पष्ट जानकारी तथा प्रमाण पेश गर्नुपर्ने हुन्छ।
Home Affairs ले आवेदन बुझाउँदा सही कागजात, हालको Confirmation of Enrolment (CoE), आवश्यक अंग्रेजी प्रमाण तथा Genuine Student सम्बन्धी विवरण ठीकसँग पेश गर्न आग्रह गर्दै आएको छ।
विद्यार्थी भिसा स्वीकृतिमा आएको यो कडाइले अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थी, विशेषगरी दक्षिण एसियाली देशका विद्यार्थी र शिक्षा परामर्श व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।











