नेपाल बाढीबारे अस्ट्रेलियाली विदेशमन्त्री वाङको भावुक सम्बोधन
भाद्र २३, २०८३ मंगलबार १२४ पटक हेरिएको
अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले नेपालमा आएको विनाशकारी बाढीलाई ‘कल्पनाभन्दा बाहिरको भयावह विपत्ति’ भन्दै पीडितप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्।
७ सेप्टेम्बरमा अस्ट्रेलियाली संसद्को माथिल्लो सदनमा बोल्दै वाङले बाढीमा ज्यान गुमाएका, बेपत्ता भएका तथा प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता ३६ अस्ट्रेलियाली नागरिकका परिवारको पीडा अस्ट्रेलियाले महसुस गरिरहेको बताइन्।
उनले भनिन्, “हरेक दिन र हरेक घण्टा खबरविहीन बित्नु परिवारका लागि आशा, प्रतीक्षा र डरको अर्को घडी हो।” सरकारले बेपत्ता आफ्ना नागरिकको खोजी, उनीहरूका परिवारलाई सहयोग तथा नेपालमा जारी विपद् प्रतिकार्यमा सहयोग गर्न सम्भव भएसम्म सबै प्रयास गरिरहेको उनले जानकारी दिइन्।
वाङका अनुसार अस्ट्रेलियाले नेपालमा झन्डै ५० जना अधिकारी तथा विशेषज्ञ परिचालन गरेको छ। यसमा १५ सदस्यीय Disaster Assistance Response Team समेत छ, जसमा न्यू साउथ वेल्स र क्विन्सल्यान्डका अग्नि तथा उद्धार सेवाका ड्रोन विशेषज्ञहरू सहभागी छन्।
विदेशमन्त्री वाङले यो विपत्तिले अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई समेत गहिरो असर पारेको उल्लेख गर्दै अस्ट्रेलियाली संसद् र सरकार नेपाली समुदायसँग ऐक्यबद्ध रहेको सन्देश दिएकी छन्।
अस्ट्रेलियाको सहयोगले खोज, उद्धार र मानवीय राहतलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।