सोमबार , अषोज २६, २०८३

नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी एकता कायम गर्ने प्रयास तीव्र बनेको छ। यस क्रममा डा. शेखर कोइराला मध्यस्थकर्ताको भूमिकामा अघि सरेका छन्।

सभापति गगन थापासँग आइतबार भेटवार्ता गरेका कोइरालाले सोमबार निवर्तमान सभापति शेरबहादुर देउवासँग पनि भेट गरी थापाले अघि सारेको सहमतिको प्रस्तावबारे जानकारी गराएका छन्।

थापाले १५औँ महाधिवेशनको निष्पक्षताका लागि छुट्टै १५ सदस्यीय राजनीतिक संयन्त्र बनाउने र त्यसको नेतृत्व कोइरालालाई दिने प्रस्ताव गरेका छन्। तर, देउवा समूहलाई बाहिर राखेर गरिने एकतामा कोइराला सकारात्मक देखिएका छैनन्। उनले ‘शेरबहादुर देउवाबिनाको एकताको अर्थ हुँदैन’ भन्दै देउवाको सम्मानजनक बहिर्गमन सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन्।

कोइरालाले पार्टी एकताका लागि आफू कुनै पदको दाबी नगर्ने संकेतसमेत दिएका छन्। देउवाको ‘ग्रेसफुल एक्जिट’को मोडालिटी बनाएर सहमति खोज्नुपर्ने उनको प्रस्ताव छ।

कोइराला निकट नेता सञ्जय गौतमका अनुसार देउवाले १५औँ महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व गर्ने र समापन सत्रमा सम्बोधन गरेर सम्मानजनक रूपमा नेतृत्वबाट बाहिरिने विकल्पबारे छलफल भइरहेको छ।

यता देउवा पक्षले भने १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा सम्पन्न हुनुपर्ने अडान राखेको छ। नेता प्रकाशशरण महतले देउवाको नेतृत्वमा महाधिवेशनमा जाने सहमति भए सर्वोच्च अदालतमा विचाराधीन मुद्दासमेत फिर्ता लिन सकिने बताएका छन्।

सभापति गगन थापा पक्ष भने विशेष महाधिवेशनको औचित्य समाप्त नहुने गरी आवश्यक विषयमा सहमति गर्न तयार रहेको जनाएको छ। महामन्त्री प्रदीप पौडेलले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर कोइरालाले राखेका माग सम्बोधन गरेर पार्टी एकता कायम गर्न सकिने सन्देश दिइसकेको बताएका छन्।

थापाले पनि देउवा समूहले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिए महाधिवेशनको मिति मंसिरसम्म सार्न आफू तयार रहेको बताएका छन्।

यससँगै कांग्रेसभित्र गगन थापा–शेखर कोइराला–शेरबहादुर देउवा पक्षबीच सहमतिको नयाँ मोडालिटी खोज्ने प्रयास निर्णायक चरणमा पुगेको देखिएको छ। पार्टी एकताका लागि देउवाको सम्मानजनक बहिर्गमन र १५औँ महाधिवेशनको निष्पक्षता मुख्य विषय बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP