मुम्बई । भारतीय फिल्म ‘हनुमान अंश’ ले बक्स अफिसमा चमत्कारिक व्यापार गर्दै १०० करोड भारूको आँकडा पार गरेको छ। ठूलो स्टारकास्ट र महँगो बजेटबिना निर्माण गरिएको फिल्मले अपेक्षा गरिएभन्दा निकै ठूलो व्यावसायिक सफलता हासिल गरेको हो।
शुक्रबार करिब १० करोड र शनिबार १६.५० करोड भारू कमाएपछि १०० करोडको नजिक पुगेको फिल्मले आइतबार बिहानका शोहरूपछि उक्त आँकडा पार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
करिब २ करोड भारू बजेटमा निर्माण भएको भनिएको ‘हनुमान अंश’ अहिले कम बजेटमा १०० करोड क्लबमा प्रवेश गर्ने हिन्दी फिल्ममध्ये एक बनेको छ।
तर फिल्मको सुरुवाती व्यापार भने निकै कमजोर थियो। भारतीय सञ्चारमाध्यमका अनुसार जुलाई ३१ मा रिलिज भएको फिल्मले पहिलो दिन करिब १० लाख भारू मात्रै कमाएको थियो। पहिलो दुई सातामा यसको कुल कमाइ करिब १.४८ करोड भारूमा सीमित थियो।
तर प्रदर्शनको १६औँ दिनदेखि फिल्मको व्यापारमा अप्रत्याशित वृद्धि देखियो। दर्शकबाट सकारात्मक प्रतिक्रिया बढ्दै गएपछि तेस्रो र चौथो सातामा फिल्मले उल्लेख्य कमाइ गर्न थाल्यो। चौथो सातामा मात्रै फिल्मले करिब ६१ करोड भारू कमाएको दाबी गरिएको छ।
यससँगै ‘हनुमान अंश’ ले कम बजेटमा ठूलो व्यावसायिक सफलता हासिल गर्ने हिन्दी फिल्मको सूचीमा आफ्नो नाम दर्ज गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले केही ठूला बजेटका फिल्मको लाइफटाइम कलेक्सनलाई समेत उछिनेको दाबी गरिएको छ।
फिल्म आध्यात्मिक गुरु नीम करोली बाबाको जीवनबाट प्रेरित रहेको बताइएको छ।
विशाल चतुर्वेदीको लेखन तथा निर्देशन रहेको फिल्ममा शोभिनव सत्या, विहान शेडगे, चन्दन के. आनन्द, पूर्णिमा तिवारी, अनिल रस्तोगीलगायत कलाकारको अभिनय छ।
फिल्मका निर्मातामा रागिनी एस, नम्रता जी सिंह, अनुप्रिया ए. नगर र विशाल चतुर्वेदी रहेका छन्।











