काठमाडौं — नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि चीन सरकारले ३३ करोडभन्दा बढी नेपाली रुपैयाँ बराबरको मानवीय सहायता उपलब्ध गराएको छ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गर्दै नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ३० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। त्यसै अवसरमा चिनियाँ रेडक्रसले उपलब्ध गराएको थप ३ करोड ६ लाख रुपैयाँ (२ लाख अमेरिकी डलर) नगद सहायता पनि हस्तान्तरण गरिएको छ।
सहयोग हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको ठूलो प्राकृतिक विपत्तिको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले नेपालको विपत्तिमा चीन सधैं साथमा रहने सन्देश चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको जानकारी पनि दिएका छन्।
चीनबाट राहत सामग्री नेपाल भित्रिन थालिसकेको बताउँदै राजदूत माओमिङले आइतबार मात्रै दुई चिनियाँ जहाजमार्फत ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायत सामग्री काठमाडौं ल्याइएको जानकारी दिए।
यसैबीच, रसुवामा आएको बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरला नाका हुँदै स्वदेश फर्काउने पहल भइरहेको पनि उनले बताएका छन्।
बाढीका कारण जलविद्युत आयोजनाका सुरुङमा फसेका कामदारको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति र थप उद्धार प्राविधिक टोली काठमाडौं आइपुगेको जानकारीसमेत दिइएको छ।
त्यस्तै, नेपाल सरकारले माग गरेको ठूलो परिमाणमा राहत तथा उद्धार सामग्री बोक्न सक्ने ठूला क्षमताका ड्रोन नेपाल ल्याउने तयारी पनि तीव्र पारिएको चिनियाँ राजदूतले जानकारी दिएका छन्।











