डार्विन । नेपालका रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि अस्ट्रेलियाले थप ३० लाख अस्ट्रेलियन डलर मानवीय सहायता घोषणा गरेको छ।
अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले आइतबार साँझ सरकारका तर्फबाट थप मानवीय सहयोगको घोषणा गरेकी हुन्। उक्त सहयोग अस्ट्रेलियाको Department of Foreign Affairs and Trade (DFAT) मार्फत परिचालन गरिने जनाइएको छ।
अस्ट्रेलियाले यसअघि नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायका लागि ५० लाख अस्ट्रेलियन डलर मानवीय सहायता घोषणा गरेको थियो। पछिल्लो सहयोगसँगै अस्ट्रेलियाको कुल सहायता रकम ८० लाख डलर पुग्नेछ।
बाढीबाट नेपालका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ भने हजारौँ मानिस प्रभावित भएका छन्। उद्धार तथा राहत कार्य जारी रहेकाले प्रभावित समुदायलाई तत्काल आवश्यक खाद्यान्न, सुरक्षित आश्रय, खानेपानी तथा अन्य मानवीय सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग जुटिरहेको छ।
अस्ट्रेलियाले नेपालमा जारी मानवीय संकटका बीच राहत तथा उद्धार प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।











