सोमबार , अषोज २६, २०८३

अस्ट्रेलियामा अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्ना श्रीमान्–श्रीमती तथा परिवारका सदस्यलाई डिपेन्डेन्टका रूपमा ल्याउन पाउने व्यवस्थामाथि पुनः बहस चर्किएको छ।

अस्ट्रेलियामा आप्रवासनको संख्या घटाउनुपर्ने मागसहित अभियान चलाइरहेको वान नेशनले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारका सदस्यलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया ल्याउने व्यवस्थामा कडाइ गर्नुपर्ने प्रस्ताव अघि सारेपछि यो विषय चर्चामा आएको हो। वान नेशनकी नेता पौलिन ह्यान्सनले विद्यार्थीले आफ्नो परिवारसँगै बस्न चाहेको अवस्थामा परिवारलाई अस्ट्रेलिया ल्याउनुको सट्टा आफ्नै देशमा बसेर अनलाइनमार्फत अध्ययन गर्न सक्ने विकल्पको पक्षमा धारणा राखेकी छन्।

ह्यान्सनको प्रस्ताव अस्ट्रेलियामा आप्रवासनको चाप, आवास तथा भाडाको समस्या र सार्वजनिक सेवामाथिको दबाब बढिरहेको बहसकै बीच आएको हो। वान नेशनले आप्रवासनमा ठूलो कटौती गर्नुपर्ने धारणा राख्दै आएको छ। पछिल्लो समय पार्टीले वार्षिक स्थायी आप्रवासन संख्या १ लाख ३० हजारको आसपासमा सीमित गर्नुपर्ने प्रस्तावसमेत अघि सारेको छ।

यसैबीच, अस्ट्रेलियामा अस्थायी भिसामार्फत बस्ने परिवारका सदस्यको संख्या पनि आप्रवासन बहसको महत्वपूर्ण विषय बनेको छ। ३० जुन २०२६ सम्म अस्ट्रेलियामा Temporary Graduate visa मा २ लाख ७१ हजार १९१ जना रहेका थिए। तीमध्ये ७३ हजार ८९७ जना secondary applicants अर्थात् मुख्य भिसाधारीका परिवारका सदस्य रहेको तथ्यांक सार्वजनिक भएको छ। यो कुल संख्याको करिब २७ प्रतिशत हो।

वान नेशनले अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी नियममा थप कडाइ गर्नुपर्ने माग गर्दै विद्यार्थीले अध्ययन छाडेर अर्को कोर्समा जाने, भिसा परिवर्तन गर्ने र अस्ट्रेलियामै बसिरहने प्रक्रियामाथि समेत प्रश्न उठाउँदै आएको छ। पार्टीले विद्यार्थी भिसाको दुरुपयोग रोक्नुपर्ने र अध्ययनको उद्देश्यभन्दा बाहिर गएर अस्ट्रेलियामा बस्ने बाटो बन्द गर्नुपर्ने बताएको छ।

तर यस्तो प्रस्ताव कार्यान्वयन भए अन्तर्राष्ट्रिय विद्यार्थी तथा उनीहरूका परिवारमाथि प्रत्यक्ष असर पर्ने भन्दै यसको विरोध हुन सक्ने देखिएको छ। अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रले विद्यार्थी र उनीहरूको परिवारलाई जोडेर हेर्ने नीतिले विश्वविद्यालय तथा शिक्षा क्षेत्रमा समेत असर पार्न सक्ने भन्दै आप्रवासन सुधार गर्दा सीपको आवश्यकता र शिक्षा क्षेत्रको आर्थिक योगदानलाई समेत ध्यान दिनुपर्ने बताउँदै आएको छ।

हाल भने डिपेन्डेन्ट भिसा पूर्ण रूपमा बन्द गर्ने निर्णय अस्ट्रेलिया सरकारले गरिसकेको छैन। यो वान नेशनको राजनीतिक प्रस्ताव र आप्रवासन नीतिसम्बन्धी बहसका रूपमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP