शिक्षामन्त्रीलाई ज्ञापनपत्र : नेपाली आदिवासी जनजातिका मातृभाषा अस्ट्रेलियाको सरकारी अभिलेखमा समावेश गर्न माग
साउन २५, २०८३ सोमबार ११२ पटक हेरिएको
सिड्नी । नेपालको आदिवासी जनजाति समुदायका मातृभाषालाई अस्ट्रेलियाको सरकारी अभिलेखमा समावेश गर्न माग गर्दै अस्ट्रेलियाका शिक्षा तथा अन्य सम्बन्धित मामिलाका मन्त्री जेसन क्लियरसमक्ष ज्ञापनपत्र बुझाइएको छ।
तामाङ सोसाइटी अफ NSW का अध्यक्ष अविरल तामाङ, NINFA (National Indigenous Nationalities Federation Australia) तथा तामाङ सोसाइटी अफ NSW का संस्थापक गणेश तामाङ र NINFA का सल्लाहकार चित्र तुम्बाहाङ्फेको उपस्थितिमा सिड्नीको बैंकस्टाउनस्थित मन्त्री क्लियरको कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्रमा नेपालका विभिन्न आदिवासी जनजाति समुदायले प्रयोग गर्दै आएका मातृभाषालाई अस्ट्रेलियाको सरकारी अभिलेख तथा सम्बन्धित तथ्यांक प्रणालीमा समावेश गर्न आवश्यक पहल गर्न माग गरिएको छ। मातृभाषाको संरक्षण, पहिचान र भावी पुस्तामा हस्तान्तरणका लागि सरकारी अभिलेखमा यसको उचित प्रतिनिधित्व महत्वपूर्ण हुने जनाउँदै समुदायका तर्फबाट उक्त माग अघि सारिएको हो।
ज्ञापनपत्र बुझ्दै मन्त्री जेसन क्लियरले नेपाली आदिवासी जनजातीय समुदायको मागप्रति आफू सकारात्मक रहेको बताएका थिए। समुदायका लागि महत्वपूर्ण विषयलाई आफ्नो ध्यानाकर्षण गराएकोमा उनले धन्यवादसमेत व्यक्त गरेका थिए।
नेपाली आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूले अस्ट्रेलियामा आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि सरकारी तहमा निरन्तर पहल आवश्यक रहेको बताएका छन्।