मेलबर्न । अष्ट्रेलियन बोर्डर फोर्स (एबीएफ) ले क्वीन्सल्याण्डमा २० लाख अष्ट्रेलियन डलरभन्दा बढी मूल्यका नक्कली नोट अष्ट्रेलियाभित्र भित्र्याउने प्रयासलाई विफल पारेको छ। एबीएफका अनुसार यो क्वीन्सल्याण्डमा एकै आयातकर्तासँग सम्बन्धित हालसम्मकै सबैभन्दा ठूलो नक्कली मुद्रा बरामदको घटना हो।
गत महिना अन्त्यतिर एबीएफका अधिकारीहरूले क्वीन्सल्याण्ड पुगेका १२ वटा हवाई कार्गोको निरीक्षण गर्ने क्रममा २० लाख ८ सय ५० अष्ट्रेलियन डलर तथा ८ सय ५० क्यानेडियन डलर बराबरका नक्कली नोट बरामद गरेका थिए। एसियाबाट पठाइएका ती सबै कार्गो एउटै आयातकर्तासँग सम्बन्धित रहेको एबीएफले जनाएको छ। गोप्य सूचनाका आधारमा जोखिमयुक्त कार्गोको पहिचान गरी जाँच गर्दा नक्कली मुद्रा फेला परेको हो।
एबीएफका कार्गो अपरेसन सुपरिन्टेन्डेन्ट डेभिड हेन्डरसनले गुप्तचर सूचना, जोखिम विश्लेषण र सीमा सुरक्षा प्रणालीका कारण ठूलो परिमाणमा नक्कली मुद्रा अष्ट्रेलियाभित्र प्रवेश गर्न नपाएको बताए।
उनले भने, “हाम्रा अधिकारीहरूले अत्याधुनिक रूपमा लुकाइएका नक्कली नोटसमेत पहिचान गरी आयात गर्ने प्रयासलाई विफल पारिरहेका छन्। यस कारबाहीले २० लाख डलरभन्दा बढीको नक्कली मुद्रा अष्ट्रेलियाली समुदायसम्म पुग्नबाट रोकेको छ।”
एबीएफका अनुसार पछिल्लो समय नक्कली नोटहरूको गुणस्तर उल्लेखनीय रूपमा सुधार हुँदै गएको छ, जसका कारण सर्वसाधारण र व्यवसायीहरू झुक्किने जोखिम बढेको छ। त्यसैले नगद कारोबार गर्दा बैंक नोटका सुरक्षा विशेषताहरू ध्यानपूर्वक जाँच गर्न एबीएफले आग्रह गरेको छ।
तथ्याङ्कअनुसार सन् २०२५ को सुरुदेखि हवाई कार्गो र अन्तर्राष्ट्रिय हुलाकमार्फत आउने नक्कली नोटका घटनामा उल्लेखनीय वृद्धि भएको छ।
- २०२२–२३: ३ वटा घटना, २५,२७० अष्ट्रेलियन डलर बराबर
- २०२३–२४: १ वटा घटना, १,३५० अष्ट्रेलियन डलर बराबर
- २०२४–२५: १३ वटा घटना, १,१५,१५० अष्ट्रेलियन डलर बराबर
- २०२५–२६ (३० जुन २०२६ सम्म): ७०० वटा घटना, ६,०५६,२०९ अष्ट्रेलियन डलर बराबर
चार आर्थिक वर्षमा हालसम्म कुल ७२० वटा घटनामा ६,२३८,८७९ अष्ट्रेलियन डलर बराबरको नक्कली मुद्रा बरामद गरिएको एबीएफले जनाएको छ।
एबीएफले वास्तविक बैंक नोटमा हुने विशेष बनावट, उठेको छपाइ, पारदर्शी झ्याल तथा रङ परिवर्तन हुने सुरक्षा चिन्हहरू जाँच गरेर मात्र नगद स्वीकार गर्न आग्रह गरेको छ। त्यस्तै “Not Legal Tender”, “For Motion Picture Use Only” वा “Prop” जस्ता शब्द लेखिएका नोटहरू नक्कली हुने भएकाले त्यस्ता नोट कारोबारमा प्रयोग नगर्न चेतावनी दिइएको छ।
यदि कसैले नक्कली मुद्रा प्राप्त गरेको शंका लागेमा त्यसलाई सकेसम्म थप नछोई स्थानीय प्रहरीलाई जानकारी गराउन एबीएफले आग्रह गरेको छ। अष्ट्रेलियामा जानाजानी नक्कली मुद्रा आयात गर्ने, राख्ने वा प्रयोग गर्ने कार्य गम्भीर अपराध मानिन्छ। यस्तो कसुरमा दोषी ठहरिएमा १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ।
बरामद गरिएका सबै नक्कली मुद्रा अनुसन्धानका लागि अष्ट्रेलियन फेडरल पुलिसलाई बुझाइने र त्यसपछि रिजर्भ बैंक अफ अष्ट्रेलियाले परीक्षण गरी नष्ट गर्ने व्यवस्था रहेको एबीएफले जनाएको छ।











