स्पाइडर–म्यानः ‘ब्रान्ड न्यु डे’को बम्पर सुरुआत, इतिहासकै दोस्रो ठूलो ओपनिङ
साउन २०, २०८३ बुधबार १७७ पटक हेरिएको
हलिउड फिल्म ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले विश्वव्यापी बक्स अफिसमा ऐतिहासिक सुरुआत गर्दै इतिहासकै दोस्रो ठूलो ओपनिङ सप्ताहन्तको कीर्तिमान बनाएको छ। फिल्मले पहिलो सप्ताहन्तमै ९२७ मिलियन अमेरिकी डलरको टिकट बिक्री गर्दै नयाँ उपलब्धि हासिल गरेको हो।
टम हल्यान्ड र जेन्डायाको मुख्य भूमिका रहेको फिल्मले करिब २२५ मिलियन अमेरिकी डलरको निर्माण बजेटलाई पहिलो सप्ताहन्तमै सहजै उछिनेको छ।
विश्वव्यापी ओपनिङ कलेक्सनको सूचीमा भने सन् २०१९ मा प्रदर्शनमा आएको ‘एभेन्जर्सः एन्डगेम’ अझै शीर्ष स्थानमा कायम छ। उक्त फिल्मले पहिलो सप्ताहन्तमै १.२ बिलियन अमेरिकी डलरभन्दा बढी कमाएको थियो।
उत्तर अमेरिकी बजारमा पनि ‘ब्रान्ड न्यु डे’ले ३३५ मिलियन अमेरिकी डलर कमाउँदै घरेलु बक्स अफिस इतिहासकै दोस्रो ठूलो ओपनिङ दर्ज गरेको छ। यसअघि ‘एभेन्जर्सः एन्डगेम’ले ३५७ मिलियन अमेरिकी डलर कमाएर पहिलो स्थान बनाएको थियो।
अन्तर्राष्ट्रिय बजारबाट फिल्मले ५७२ मिलियन अमेरिकी डलर कमाएको छ। विदेशी बजारमध्ये चीन सबैभन्दा ठूलो बजार बनेको छ, जहाँबाट मात्रै फिल्मले १२१ मिलियन अमेरिकी डलरको कमाइ गरेको छ।
डेस्टिन ड्यानियल क्रेटनको निर्देशनमा बनेको यस फिल्ममा टम हल्यान्ड, जेन्डाया, सेडी सिंक, ज्याकोब बाटालोन, जोन बर्नथल, ट्रामेल टिलम्यान, माइकल म्यान्डो र मार्क रफालोको अभिनय रहेको छ। स्टान ली र स्टिभ डिट्कोको सिर्जना गरेको स्पाइडर–म्यान कमिक पात्रमा आधारित फिल्मको पटकथा क्रिस म्याककेना र एरिक सोमर्सले लेखेका हुन्।