मंगलबार , अषोज २७, २०८३

काठमाडौं । नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब ८० महिनापछि सञ्चालनमा आएको यो सुरुङमार्गलाई नेपालको भौतिक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन्।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन। प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ।

आगामी करिब तीन महिनासम्म परीक्षणकाल (ट्रायल ओपनिङ पिरियड) सञ्चालन गरी सुरक्षा, ट्राफिक व्यवस्थापन र सञ्चालन प्रणालीको मूल्यांकन गरिनेछ। त्यसपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइने योजना छ।

परीक्षण अवधिमा निःशुल्क, त्यसपछि यस्तो हुनेछ शुल्क

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने आयोजनाले जनाएको छ। नियमित सञ्चालनपछि भने सवारीको प्रकारअनुसार शुल्क लाग्नेछ।

सडक विभागका अनुसार:

कार तथा भ्यान : काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ
मिनीबस, ट्रक र टिपर : प्रवेश गर्दा ११५ रुपैयाँ, बाहिरिँदा ८० रुपैयाँ
बस तथा ठूला ट्रक : प्रवेश गर्दा २६० रुपैयाँ, बाहिरिँदा २०० रुपैयाँ

यसअघि मन्त्रिपरिषद्ले सवारीसाधनको वर्गअनुसार ६० देखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरिसकेको छ।

यी सवारीलाई प्रवेश निषेध

सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई प्रवेश गर्न दिइने छैन।

२.६८ किलोमिटर लामो मुख्य सुरुङ

आयोजनाअन्तर्गत २,६८८ मिटर लामो मुख्य सुरुङमार्ग र २.५५ किलोमिटर लामो उद्धार (इमर्जेन्सी) सुरुङ निर्माण गरिएको छ। सुरुङभित्र सिसिटिभी, सञ्चार प्रणाली, दमकल, आकस्मिक उद्धार सेवा, अक्सिजन आपूर्ति तथा अन्य आधुनिक सुरक्षा प्रणाली जडान गरिएको छ।

यो सुरुङमार्ग काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भएर धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलामा पुगेर टुंगिन्छ। यसले नागढुङ्गाको उकालो, घुमाउरो सडक र दैनिक ट्राफिक जामलाई छल्न सहयोग गर्ने भएकाले यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ।

२५ अर्ब रुपैयाँ लागत

आयोजना निर्माणमा जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी गरी करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ। त्यसमध्ये निर्माणमा करिब १७ अर्ब रुपैयाँ, विनिमय दर र निर्माण सामग्रीको मूल्यवृद्धिबाट थप २ अर्ब रुपैयाँ तथा जग्गा अधिग्रहण र मुआब्जामा करिब ६ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ।

आयोजनाका लागि ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

सुरुङमार्ग ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी तथा अन्य प्राविधिक जटिलताका कारण निर्धारित समयभन्दा निकै ढिलो गरी सम्पन्न भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP