भारतको बिहारस्थित पटनामा विद्यार्थी आन्दोलनका क्रममा देखिएको एउटा दृश्य अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको छ। प्रहरीले प्रदर्शन रोक्न अश्रुग्यास, लाठी र वाटर क्यानन प्रयोग गरिरहेको बेला केही प्रदर्शनकारी युवाले त्यसलाई डरको रूपमा होइन, व्यङ्ग्य र हास्यको माध्यम बनाइदिए।
एक प्रदर्शनकारी युवकले प्रहरीतर्फ हेर्दै ठट्टा गर्दै भने, “सर! यहाँ टियर ग्यासको व्यवस्था छैन? तपाईंहरू केही व्यवस्था नगरी आउनुभएछ।” उनको पछाडिबाट अन्य युवाहरूले “वाटर क्यानन!” भन्दै कराउन थाले। केहीबेरमै प्रहरीले पानीको फोहोरा चलायो। तर प्रदर्शनकारी भाग्नुको सट्टा पानीमा भिज्दै नाच्न र हाँस्न थाले।
प्रहरीको बल प्रयोगलाई प्रदर्शनकारीले व्यङ्ग्यमा बदलिदिएको यो दृश्यका भिडियो र मिमहरू अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेका छन्।
दिल्लीबाट सुरु भएको आन्दोलनको प्रभाव
पटनाको यो आन्दोलनको पृष्ठभूमि नयाँदिल्लीको जन्तर–मन्तरमा भएको विद्यार्थी प्रदर्शनसँग जोडिएको छ।
२० जुलाईमा कक्रोच जनता पार्टी (सीजेपी) ले जन्तर–मन्तरबाट संसदतर्फ मार्चको आह्वान गरेको थियो। परीक्षा प्रणाली, प्रश्नपत्र चुहावट तथा शिक्षा क्षेत्रका विभिन्न समस्याविरुद्ध ठूलो संख्यामा विद्यार्थी सडकमा उत्रिएका थिए।
प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड तोड्ने प्रयास गरेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। त्यसका भिडियो र तस्वीर सार्वजनिक भएपछि प्रहरीको बल प्रयोगमाथि व्यापक बहस सुरु भएको थियो। त्यही दिन संसदको मनसुन अधिवेशन चलिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीको सवारी संसद भवनबाट बाहिरिएको दृश्यसमेत चर्चामा आएको थियो।
दिल्लीको घटनापछि आन्दोलनको प्रभाव बिहार, हैदरावादलगायत अन्य सहरमा पनि फैलिएको थियो।
पटनामा ‘लोक भवन मार्च’
२२ जुलाईमा बिहारको पटनामा अखिल भारतीय विद्यार्थी संघ (आईसा) को नेतृत्वमा ‘लोक भवन मार्च’ आयोजना गरिएको थियो।
आईसा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) लिबरेसन निकट विद्यार्थी संगठन हो। प्रदर्शनकारीहरूले परीक्षा प्रश्नपत्र चुहावट, शिक्षा प्रणालीमा देखिएका समस्या, शिक्षाको व्यापारीकरण तथा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरेका थिए।
गान्धी मैदानबाट सुरु भएको मार्चलाई प्रहरीले राज्यपाल निवासतर्फ अघि बढ्न नदिएपछि तनाव चर्किएको थियो। त्यसपछि प्रहरीले अश्रुग्यास, वाटर क्यानन र लाठी प्रयोग गरी भीड नियन्त्रणको प्रयास गरेको थियो।
मार्चको नेतृत्व सीपीआई (एमएल) लिबरेसनका विधायक तथा आइसाका पूर्व राष्ट्रिय महासचिव सन्दीप सौरभले गरेका थिए। उनले आन्दोलनका क्रममा मोदी सरकार, दिल्ली प्रहरी र केन्द्रीय गृहमन्त्री अमित शाहको भूमिकामाथि प्रश्न उठाउँदै राजीनामाको माग गरेका थिए।
यस घटनाको प्रभाव बिहार विधान परिषद्सम्म पुगेको थियो। आरजेडीका एमएलसी सुनील कुमार सिंहले प्रहरी कारबाहीको विरोध गरेपछि सत्ता र विपक्षबीच भनाभन भएको थियो र विपक्षी सदस्यहरूले बैठक बहिष्कार गरेका थिए।
दमनमाथि व्यङ्ग्य
पटनाको प्रदर्शनको सबैभन्दा चर्चित दृश्य भने प्रहरीको वाटर क्यानन प्रयोगकै बीचमा देखियो।
‘नेशनल हेराल्ड’ को इन्स्टाग्राम पेजमा सार्वजनिक भएको भिडियोमा एक प्रदर्शनकारीले प्रहरीलाई व्यङ्ग्य गर्दै “सर! टियर ग्यास छैन?” भन्ने प्रश्न गर्छन्। त्यसपछि अन्य प्रदर्शनकारीहरूले “वाटर क्यानन!” भन्दै कराउन थालेका देखिन्छन्।
प्रहरीले पानीको फोहोरा चलाएपछि उनीहरू भागेनन्। बरु पानीमा रमाउँदै हाँसे, नाचे र चर्को गर्मीबीच त्यसलाई केहीबेर राहतको रूपमा प्रयोग गरे।
यही विरोधाभासका कारण भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको हो। प्रहरी दमन गरिरहेको थियो, तर प्रदर्शनकारीहरूले त्यही दमनलाई हास्य र व्यङ्ग्यको विषय बनाइरहेका थिए।
आन्दोलनमा भोजपुरी गीतको प्रयोग
पटनाको आन्दोलनमा नारामात्र होइन, गीत पनि राजनीतिक अभिव्यक्तिको माध्यम बन्यो।
‘चकन्द वाले’ नामक युट्युब च्यानलले सार्वजनिक गरेको ‘मन्त्रिया कुर्सी दइले बा’ शीर्षकको भोजपुरी गीतले बेरोजगारी, प्रश्नपत्र चुहावट र युवाको भविष्यसँग सम्बन्धित विषयलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ।
गीतमा अवसरको खोजीमा रहेका युवाले रोजगारीको सट्टा प्रहरीको लाठी सामना गर्नुपरेको अवस्था चित्रण गरिएको छ। सत्ता पक्ष युवाको समस्या समाधान गर्न असफल भएको तर कुर्सी छाड्न तयार नभएको सन्देश गीतमार्फत व्यक्त गरिएको छ।
यसरी सडक आन्दोलनसँगै गीत, व्यङ्ग्य, मिम र सामाजिक सञ्जाल आन्दोलनको अभिन्न हिस्सा बनेका छन्।
२० एफआईआर, ५६ पक्राउ
यद्यपि आन्दोलनका केही दृश्य हास्यपूर्ण देखिए पनि प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण भने रहेन।
प्रहरीका अनुसार केही समूहले ढुंगा प्रहार गर्नुका साथै प्रहरीका सवारीसाधन र सार्वजनिक सम्पत्तिमा तोडफोड गरेका थिए। सर्वसाधारण र सञ्चारकर्मीमाथि समेत आक्रमण भएको प्रहरीको दाबी छ।
घटनापछि पटना प्रहरीले २० वटा एफआईआर दर्ता गर्दै ५६ जनालाई पक्राउ गरेको जनाएको छ। भिडियो र सीसीटीभी फुटेजका आधारमा थप १७७ जना शंकास्पद व्यक्तिको पहिचान गरिएको छ।
ढुंगामुढा, तोडफोड तथा सुरक्षाकर्मीमाथिको आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। तनाव बढेपछि बिहार प्रहरी मुख्यालयले २४ जुलाईदेखि अर्को आदेश नभएसम्म राज्यभरका प्रहरी कर्मचारीको नियमित बिदा पनि रद्द गरेको छ।
पटनाको आन्दोलनले एकातिर प्रहरी र प्रदर्शनकारीबीचको तनावपूर्ण झडप देखायो भने अर्कोतिर प्रतिरोधको नयाँ शैली पनि प्रस्तुत गर्यो। “सर, टियर ग्यासको व्यवस्था छैन?” भन्ने एक वाक्यले आन्दोलनको माहोललाई व्यङ्ग्य, हास्य र प्रतिरोधको प्रतीकका रूपमा सामाजिक सञ्जालमा स्थापित गरिदिएको छ।











