वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै, काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य
साउन ७, २०८३ बिहिबार ८१ पटक हेरिएको
काठमाडौं । वैदेशिक रोजगार ठगीमा परेका व्यक्तिहरूले अब प्रमाणसहित अनलाइनबाटै उजुरी दर्ता गर्न सक्ने भएका छन्। वैदेशिक रोजगार विभागले मंगलबारदेखि नयाँ अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको जनाएको हो।
विभागका अनुसार यस प्रणालीमार्फत उजुरी प्रक्रिया छिटो, सरल र पीडितमैत्री बनाइएको छ। उजुरी दर्ता भएपछि त्यसको अवस्थाबारे उजुरीकर्तालाई इमेल वा एसएमएसमार्फत नियमित जानकारी दिइने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाअनुसार अब उजुरीको कारबाही सम्बन्धित जिल्लाबाटै अगाडि बढाइने भएकाले पीडित वा उनका परिवारका सदस्य काठमाडौं धाउनुपर्ने बाध्यता पनि अन्त्य भएको विभागले जनाएको छ।
यस प्रणालीमार्फत वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम लिएर नपठाएको, सरकारले तोकेकोभन्दा बढी शुल्क असुलेको, राहदानी कब्जा गरेको, विदेशमा करार सम्झौताअनुसारको काम, तलब तथा अन्य सेवा–सुविधा नपाएको लगायतका विषयमा उजुरी दर्ता गर्न सकिनेछ।
विभागका अनुसार नेपालभित्र रहेका पीडित मात्र होइन, विदेशमा रहेका नेपाली श्रमिक वा उनीहरूका परिवारका सदस्यले पनि आवश्यक प्रमाण संलग्न गरी अनलाइनमार्फत सहजै उजुरी दर्ता गर्न सक्नेछन्।
विभागले नयाँ प्रणालीले वैदेशिक रोजगार ठगीका घटनामा छिटो न्यायिक प्रक्रिया अघि बढाउन तथा सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।