काठमाडौं । अस्ट्रेलियामा एक वर्षको अवधिमा करिब ५० हजार अन्तर्राष्ट्रिय विद्यार्थी घटेको तथ्यांक सार्वजनिक भएको छ।
शिक्षा विभागलाई उद्धृत गर्दै फाइनान्सियल रिभ्युले प्रकाशित गरेको रिपोर्टअनुसार सन् २०२५ को फेब्रुअरीसम्म ७ लाख ७ हजार अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना भएका थिए। तर, सन् २०२६ को फेब्रुअरीसम्म यो संख्या घटेर ६ लाख ५५ हजार मा पुगेको छ। यसले एक वर्षमै करिब ५२ हजार विद्यार्थी घटेको देखाउँछ।
रिपोर्टका अनुसार विदेशी विद्यार्थीका लागि लागू गरिएका कडा भिसा तथा अध्यागमन नीतिका कारण विद्यार्थी भर्नामा उल्लेखनीय गिरावट आएको हो। विशेषगरी सन् २०२५ को अगस्टदेखि विद्यार्थी भिसा आवेदन अस्वीकृत हुने दर तीव्र रूपमा बढेपछि नयाँ विद्यार्थीको आगमन प्रभावित भएको जनाइएको छ।
अस्ट्रेलियाले पछिल्लो समय अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा गुणस्तर कायम गर्ने र अध्यागमन व्यवस्थापनलाई कडाइ गर्ने उद्देश्यले विभिन्न नीतिगत परिवर्तन लागू गरेको छ। त्यसको प्रत्यक्ष असर विदेशी विद्यार्थीको संख्यामा परेको विश्लेषण गरिएको छ।
हाल अस्ट्रेलियामा चीन, भारत, नेपाल, फिलिपिन्स, भियतनाम, श्रीलंका, बंगलादेश, पाकिस्तान लगायत ५० भन्दा बढी देशका विद्यार्थी अध्ययनका लागि आउने गरेका छन्। विदेशी विद्यार्थीको संख्यामा आएको गिरावटले उच्च शिक्षा क्षेत्रसँगै आवास, खुद्रा व्यापार र स्थानीय अर्थतन्त्रमा समेत प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।









