काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ। यसअघि सिमरामा भएको मौखिक सहमतिलाई लिखित रूप दिँदै अन्तिम सहमति गर्ने प्रक्रिया अघि बढाइएको हो।
यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरकारी वार्ता टोली र मिटरब्याज पीडित पक्षका प्रतिनिधिबीच अन्तिम चरणको निर्णायक वार्ता जारी रहेको छ।
यसअघि बिहीबार पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै पक्षबीच सघन छलफल भएको थियो। सोही छलफलमा भएको सहमतिलाई आधार बनाएर शुक्रबार अन्तिम सम्झौताको तयारी गरिएको हो।
सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य रहेका छन्।
यस्तै, पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी सदस्य रहेका छन्।
सरकार र पीडित पक्षबीच हुने यो सम्झौताले लामो समयदेखि जारी मिटरब्याज पीडितहरूको आन्दोलन समाधानतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ।









