अस्ट्रेलियाले नयाँ राष्ट्रिय आपतकालीन चेतावनी प्रणाली ‘AusAlert’ को देशव्यापी परीक्षण गर्ने भएको छ। आगामी जुलाई २७ मा हुने परीक्षणका क्रममा अधिकांश उपयुक्त मोबाइल फोन, स्मार्टवाच तथा केही ट्याबलेटमा एकैसाथ चेतावनी सन्देशसहित ठूलो साइरन बज्नेछ।
अस्ट्रेलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (NEMA) का अनुसार यो परीक्षण नयाँ Cell Broadcast प्रविधिमा आधारित प्रणालीको प्रभावकारिता जाँच्नका लागि गर्न लागिएको हो। परीक्षणका क्रममा आउने सन्देशमा यो केवल परीक्षण (Test) भएको उल्लेख हुनेछ र सर्वसाधारणले कुनै कारबाही गर्नुपर्ने आवश्यकता रहने छैन।
हाल प्रयोगमा रहेको SMS आधारित आपतकालीन सूचना प्रणालीभन्दा AusAlert बढी छिटो र भरपर्दो हुने बताइएको छ। यसले प्रभावित क्षेत्रमा रहेका सबै उपयुक्त मोबाइल उपकरणमा एकैपटक चेतावनी पठाउन सक्नेछ। प्रयोगकर्ताको फोन नम्बर आवश्यक नपर्ने भएकाले नेटवर्क अत्यधिक व्यस्त हुँदा पनि सूचना प्रभावकारी रूपमा पुग्ने सरकारको विश्वास छ।
यो प्रणाली डढेलो, बाढी, चक्रवात, सुनामी, सार्वजनिक सुरक्षा जोखिम, आतंकवादी आक्रमण तथा अन्य आपतकालीन अवस्थाका बेला प्रयोग गरिनेछ। गम्भीर जोखिमको अवस्थामा यसले मोबाइलको Silent वा Do Not Disturb मोडसमेत निष्क्रिय बनाएर चेतावनी सुनाउने क्षमता राख्नेछ।
सरकारले देशका विभिन्न क्षेत्रहरूमा प्रारम्भिक परीक्षण सम्पन्न गरिसकेको छ। राष्ट्रिय परीक्षण सफल भएपछि अक्टोबर २०२६ देखि AusAlert प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याइने योजना रहेको छ।
Pic From social media / ABC news









