पुराखबर | खेलकुद
फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको टेक्सासस्थित डलासमा भएको खेलमा प्रभावशाली प्रदर्शन गर्दै स्पेनले उपाधि भिडन्तमा आफ्नो स्थान सुरक्षित गरेको हो। सन् २०१० को विश्वविजेता स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा पुगेको हो।
स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एक–एक गोल गरे। खेलको २२औँ मिनेटमा फ्रान्सका लुकास डिग्नेले लामिन यमालमाथि फाउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै स्पेनले अग्रता बनायो।
खेलको ५८औँ मिनेटमा पेड्रो पोरोले अर्को गोल थप्दै स्पेनको अग्रता २–० मा पुर्याए। त्यसपछि फ्रान्सले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न सकेन र स्पेनले २–० को जितसहित फाइनल यात्रा तय गर्यो।
यो हारसँगै जारी विश्वकपको बलियो उपाधि दाबेदार मानिएको फ्रान्सको यात्रा सेमिफाइनलमै समाप्त भएको छ। फ्रान्स लगातार तेस्रोपटक विश्वकपको फाइनलमा पुग्ने अवसरबाट समेत वञ्चित भएको छ।
अब स्पेनले विश्वकप उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।









