एडिलेड, साउथ अष्ट्रेलिया / ओशिनिया क्षेत्रकै बृहत् तथा प्रतिष्ठित नेपाली खेलकुद महोत्सव ‘७ औँ ओशिनिया नेप्लिज स्पोर्ट्स मिट (ONSM) २०२७’ को तयारी औपचारिक रूपमा सुरु भएको छ। सन् २०२७ मार्च २५ देखि २८ सम्म साउथ अष्ट्रेलियाको एडिलेडमा आयोजना हुने प्रतियोगितालाई भव्य, व्यवस्थित र ऐतिहासिक रूपमा सम्पन्न गर्न ‘साउथ अष्ट्रेलिया राज्य समन्वय समिति’ घोषणा गरिएको छ।
ओशिनिया क्षेत्रभरिका नेपाली खेलाडी, खेलप्रेमी र समर्थकलाई एउटै मञ्चमा जोड्ने, नेपाली मौलिक पहिचान र सांस्कृतिक विरासतको प्रवर्द्धन गर्ने तथा साउथ अष्ट्रेलियाको खेलकुद क्षमता र सामुदायिक सामर्थ्यलाई प्रदर्शन गर्ने उद्देश्यका साथ समिति गठन गरिएको प्रतियोगिताका संयोजक तथा एडिलेड नेप्लिज क्रिकेट एशोसिएसनका अध्यक्ष विजय जोशीले बताउनुभयो।
सन् २०१३ मा स्थापना भएको ओशिनिया नेप्लिज स्पोर्ट्स मिट नेपाली समुदायको ‘ओलम्पिक’का रूपमा समेत परिचित छ। हरेक संस्करणसँगै यसको दायरा र प्रतिष्ठा विस्तार हुँदै गएको छ। सन् २०२७ मा एडिलेडमा हुने सातौँ संस्करणलाई खेलकुदसँगै नेपाली समुदायको एकता, संस्कृति, पहिचान र बहुसांस्कृतिक सम्बन्धको उत्सवका रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।
मुख्य कार्यसमिति र विभागीय जिम्मेवारी घोषणा
प्रतियोगिताको तयारीदेखि सञ्चालनसम्मका सम्पूर्ण पक्षलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न विभागीय जिम्मेवारीसहित मुख्य कार्यसमिति गठन गरिएको छ।
समितिको संयोजकमा विजय जोशी, सह-संयोजकमा सन्तोष अधिकारी, कोषाध्यक्षमा दिपेश राज पाण्डे र आर्थिक संयोजकमा दिप्सन खड्का रहनुभएको छ।
त्यस्तै, मिडिया संयोजकमा बालगोपाल उपाध्याय, स्पन्सरसिप संयोजकमा रेनुका लामा तथा सह-संयोजकमा रुपक बर्तौला, डकुमेन्ट कन्ट्रोलरमा नबिन पन्त, मल्टिकल्चरल/कम्युनिटी संयोजकमा मञ्जु खड्का, लजिस्टिक संयोजकमा सन्तोषी गौतम र इभेन्ट म्यानेजमेन्ट संयोजकमा पुस्कर कोइराला रहनुभएको छ।
यसैगरी, आईसीटी सपोर्ट संयोजकमा मधुकर पौडेल, सांस्कृतिक संयोजकमा सिमा गुरुङ, मेडिकल संयोजकमा रक्षा शुक्ला, डिजिटल मिडिया/प्रमोशनल संयोजकमा सभा डिसी न्यौपाने, खेलकुद संयोजकमा थिर गुरुङ र स्वयंसेवक संयोजकमा अनुभव अधिकारी रहनुभएको छ।
समितिको कानुनी सल्लाहकारमा मोति नराल तथा सल्लाहकारमा सुपक अधिकारी रहनुभएको छ।

विभिन्न खेलका लागि छुट्टाछुट्टै संयोजक
प्रतियोगिताअन्तर्गत सञ्चालन हुने विभिन्न खेललाई व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रभावकारी रूपमा सञ्चालन गर्न विधागत खेल संयोजकहरू पनि तोकिएका छन्।
क्रिकेटको संयोजकमा बिकास सुवेदी, जुनियर क्रिकेटमा लक्ष्मी सापकोटा, फुटबलमा चिरु श्रेष्ठ, भलिबलमा प्रदिप खत्री, बास्केटबलमा रोश धमाला, टेबल टेनिस तथा लन टेनिसमा नबिन कडेल, ब्याडमिन्टनमा जोभ अधिकारी, स्विमिङमा हिमाल कडेल, गल्फमा बिशाल मान श्रेष्ठ तथा ट्र्याक एण्ड फिल्डमा रमेश राजभण्डारीलाई जिम्मेवारी दिइएको छ।
आयोजकका अनुसार प्रत्येक खेल विधाको तयारी, खेलाडी समन्वय, प्राविधिक व्यवस्थापन र प्रतियोगिता सञ्चालनलाई प्रभावकारी बनाउन सम्बन्धित खेल क्षेत्रमा अनुभव भएका व्यक्तिलाई जिम्मेवारी दिइएको हो।
‘United by Heritage, Inspired by Sport’ मूल नारा
सातौँ ओशिनिया नेप्लिज स्पोर्ट्स मिट २०२७ को मूल नारा ‘हेरिटेजद्वारा एकजुट, खेलकुदद्वारा प्रेरित’ (United by Heritage, Inspired by Sport) तय गरिएको छ।
यो नाराले नेपाली समुदायलाई साझा भाषा, संस्कृति, परम्परा र विरासतले एकताबद्ध बनाउँदै खेलकुदमार्फत नयाँ पुस्तालाई प्रेरित गर्ने प्रतियोगिताको मूल उद्देश्यलाई प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ।
साउथ अष्ट्रेलियाको पहिचान झल्काउने ‘कोआला’ मस्कट
प्रतियोगिताको आधिकारिक मस्कटका रूपमा ‘कोआला’ (Koala) चयन गरिएको छ। साउथ अष्ट्रेलियाको पहिचान र गौरवसँग जोडिएको मैत्रीपूर्ण तथा लचिलो जीव कोआलाले एकता, सामूहिक भावना र पाहुनाप्रतिको न्यानो आतिथ्यलाई प्रतिनिधित्व गर्ने संयोजक विजय जोशीले बताउनुभयो।
आयोजकका अनुसार मस्कटले साउथ अष्ट्रेलियाको स्थानीय पहिचानलाई प्रतियोगिताको अन्तर्राष्ट्रिय र बहुसांस्कृतिक स्वरूपसँग जोड्नेछ।
प्यारालिम्पिक स्वर्ण पदक विजेता कट्रिना वेभ सद्भावना दूत
प्रतियोगिताको आधिकारिक सद्भावना दूतमा अष्ट्रेलियन प्यारालिम्पिक स्वर्ण पदक विजेता कट्रिना वेभ ओएएम (Katrina Webb OAM) नियुक्त हुनुभएको छ।
तीनवटा प्यारालिम्पिक खेलमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै स्वर्ण, रजत र कास्य पदक जितिसक्नुभएकी वेभ अन्तर्राष्ट्रिय नेतृत्व रणनीतिकार, फिजियोथेरापिस्ट तथा उत्प्रेरक वक्ताका रूपमा समेत परिचित हुनुहुन्छ।
नेपालसँग गहिरो आत्मिक तथा परोपकारी सम्बन्ध राख्दै आउनुभएकी वेभले दुई पटक सगरमाथा आधार शिविरको पदयात्रा गर्नुका साथै ‘नेपाल लिडरसिप प्रोग्राम’ समेत सञ्चालन गर्दै आउनुभएको छ।
प्रतियोगिताका संयोजक विजय जोशीले कट्रिना वेभको आबद्धताले प्रतियोगिताको गरिमा र पहुँच थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
“नेपालसँग गहिरो सद्भाव राख्ने कट्रिना वेभजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय व्यक्तित्व आबद्ध हुनुले प्रतियोगिताको गरिमा अझ बढेको छ। प्रतियोगितालाई नेपाली समुदायमा मात्र सीमित नराखेर बृहत् अष्ट्रेलियाली समुदायसम्म जोड्न अब प्रत्येक खेलका लागि एक–एक जना सद्भावना दूतसमेत नियुक्त गरिनेछ,” संयोजक जोशीले भन्नुभयो।
आयोजकले प्रतियोगितालाई नेपाली समुदायको आन्तरिक खेलकुद गतिविधिमा मात्र सीमित नराखी बृहत् अष्ट्रेलियाली तथा बहुसांस्कृतिक समुदायसँग जोड्ने उद्देश्यले प्रत्येक खेल विधाका लागि छुट्टाछुट्टै सद्भावना दूत नियुक्त गर्ने तयारी गरेको जनाएको छ।
७०० देखि ८०० खेलाडी एडिलेड आउने अनुमान
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न राज्य तथा न्युजिल्याण्डबाट गरी ७०० देखि ८०० सम्म नेपाली खेलाडी सहभागी हुने अनुमान गरिएको छ।
क्रिकेट, जुनियर क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, टेबल टेनिस, लन टेनिस, ब्याडमिन्टन, स्विमिङ, गल्फ तथा ट्र्याक एण्ड फिल्डलगायत विभिन्न खेलमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
ठूलो संख्यामा खेलाडी, पदाधिकारी, परिवार, समर्थक र दर्शक एडिलेड आउने अपेक्षा गरिएकाले प्रतियोगिताले खेलकुद क्षेत्रमा मात्र नभई साउथ अष्ट्रेलियाको पर्यटन, होटल तथा आतिथ्य व्यवसाय, स्थानीय व्यापार र सामुदायिक संलग्नतामा समेत सकारात्मक तथा दीर्घकालीन प्रभाव पार्ने विश्वास आयोजकले लिएको छ।
खेलकुदमार्फत एकता, पहिचान र नयाँ पुस्तालाई प्रेरणा
आयोजकका अनुसार सातौँ ओशिनिया नेप्लिज स्पोर्ट्स मिट २०२७ केवल पदक र प्रतिस्पर्धामा सीमित रहने छैन। प्रतियोगिताले ओशिनिया क्षेत्रमा रहेका नेपाली समुदायबीच सम्बन्ध विस्तार गर्ने, नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने, नेपाली संस्कृति र विरासतसँग जोड्ने तथा बहुसांस्कृतिक अष्ट्रेलियामा नेपाली समुदायको सकारात्मक उपस्थिति थप सशक्त बनाउने लक्ष्य राखेको छ।
सन् २०२७ मार्च २५ देखि २८ सम्म एडिलेडमा हुने ‘७ औँ ओशिनिया नेप्लिज स्पोर्ट्स मिट’ खेलकुद, नेपाली पहिचान, सामुदायिक एकता र बहुसांस्कृतिक सहकार्यको विशाल उत्सव बन्ने अपेक्षा गरिएको छ।











