मंगलबार , असार ३०, २०८३

काठमाडौं — निरन्तर वर्षा र पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरूमा सवारी आवागमन रोकिएको छ। लामो दूरीका सवारीसाधनलाई बसपार्कलगायतका स्थानमै होल्ड गरिएको छ।

नागढुंगा, साँगा र फर्पिङ हुँदै उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। वर्षाका कारण सोमबार रातभर रात्रिकालीन सवारीसाधनलाई यात्रा गर्न रोक लगाइएको थियो भने मंगलबार बिहान पनि सवारीसाधन सञ्चालन गर्न दिइएको छैन।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका इन्सपेक्टर किरण घिमिरेका अनुसार नागढुंगा–मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन रोकिएको छ। चितवनको केराबारी र तुइनखोला क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

त्यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी खोलामा पानीको बहाव बढेको र मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो गएपछि उक्त राजमार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ।

फर्पिङ–फाखेल–सिस्नेरी हुँदै हेटौंडा पुग्ने सडकसमेत बन्द गरिएको छ। कान्ति लोकपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा पहिरो गएपछि उक्त सडकमा पनि सवारी आवागमन अवरुद्ध भएको छ।

रातभर परेको वर्षाले पहिरो तथा बाढीको जोखिम बढाएपछि रात्रिकालीन सवारी सञ्चालनमा लगाइएको रोक मंगलबार बिहानसम्म कायम राखिएको छ। जोखिमको अवस्था विश्लेषण गरी कुन क्षेत्रसम्म सवारी सञ्चालन गर्न दिने भन्नेबारे निर्णय गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले पनि पहिरोको उच्च जोखिम रहेको भन्दै अर्को सूचना जारी नभएसम्म सवारीसाधनको आवागमनमा रोक लगाएको थियो।

यात्रुहरूलाई सडकको अवस्था र सम्बन्धित निकायको आधिकारिक सूचना बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP