सार्वजनिक तथा निजी सवारीसाधनमा गैरकानुनी रूपमा राखिने कालो सिसाविरुद्धको अभियानलाई कडाइका साथ अघि बढाउन गृहमन्त्री सुधन गुरुङले निर्देशन दिएका छन् । सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले कानुन सबैका लागि समान हुनुपर्ने भन्दै आफ्नै गाडीको कालो सिसासमेत हटाउन लगाएर उदाहरणीय कदम चालेका हुन् ।
निरीक्षणका क्रममा उपस्थित ट्राफिक प्रहरी अधिकारीहरूलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, “नियम सर्वसाधारणलाई मात्र होइन, मन्त्रीलाई पनि लाग्नुपर्छ । मेरो गाडीमा जडान भएको कालो सिसा पनि तुरुन्तै हटाउनुस् ।” गृहमन्त्रीको यस्तो निर्देशन आएलगत्तै ट्राफिक प्रहरीले उनले प्रयोग गर्दै आएको सवारीको कालो सिसा हटाउने प्रक्रिया सुरु गरिसकेको छ । यसअघि मन्त्री तथा उच्चपदस्थ अधिकारीहरूले प्रयोग गर्ने सरकारी सवारीमा सुरक्षाका नाममा कालो सिसा राख्ने परिपाटी व्यापक रहे पनि मन्त्री गुरुङ भने प्रायः आफ्नै निजी गाडीमा यात्रा गर्दै आएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले असार १४ गतेदेखि उपत्यकाका सडकमा गुड्ने सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसाका स्टिकर हटाउने विशेष अभियान सुरु गरिसकेको छ ।
प्रहरीका अनुसार यो अभियानलाई दुई चरणमा वर्गीकरण गरी कार्यान्वयन गरिँदै छः
पहिलो चरणः सवारीसाधनका सिसामा पछि थपिएका (मोडिफाइड) कालो स्टिकरहरू तत्कालै सडकमा ओरालेर हटाउने ।
दोस्रो चरणः फ्याक्ट्री वा कम्पनीबाटै राखिएका कालो सिसा (टिन्टेड ग्लास) जडान भई आएका सवारीसाधनको कानुनी तथा प्राविधिक व्यवस्थापनका लागि आवश्यक निर्णय लिने ।
पछिल्लो समय भित्रिएका कतिपय महँगा र आधुनिक गाडीहरूमा कम्पनीबाटै कालो वा अलि अँध्यारो सिसा जडान भएर आउने गरेकाले ट्राफिक प्रहरीलाई कारबाहीमा केही व्यावहारिक जटिलता देखिएको छ । यसै सन्दर्भमा ट्राफिक प्रहरीले नेपालस्थित सवारी बिक्रेता आधिकारिक कम्पनीहरूसँग छलफल अगाडि बढाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार बजारमा गुडिरहेका केही गाडीमा कम्पनीकै तर्फबाट कालो सिसा राखिएको पाइएकाले त्यसको प्राविधिक र कानुनी निरूपणका लागि सम्बन्धित विक्रेताहरूसँग परामर्श भइरहेको छ ।
सुरक्षा संवेदनशीलता र पारदर्शी सडक संस्कृतिका लागि कालो सिसा हटाउने ट्राफिकको यो कदमलाई गृहमन्त्रीकै व्यक्तिगत अग्रसरताले थप बल पुर्याएको विश्लेषण गरिएको छ ।











