डार्विन, अष्ट्रेलिया । अष्ट्रेलियाको उत्तरी शहर डार्विनमा यस शनिबार नेपाल फेष्टिभलको अर्को संस्करण भव्य रूपमा आयोजना हुँदैछ। गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्दन टेरिटोरीको आयोजनामा हुन लागेको नेपाल फेष्टिभलमा नर्दन टेरिटोरीकी मुख्यमन्त्री लिया फिनोचियारो प्रमुख अतिथिका रूपमा सहभागी हुने भएकी छन्।
नेपाल फेष्टिभलको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनए नर्दन टेरिटोरीका संयोजक त्रिलोचन सापकोटाले यस वर्षको फेष्टिभललाई अझ भव्य र व्यवस्थित बनाउन तयारी तीव्र पारिएको जानकारी दिए। उनका अनुसार यस पटक नेपाली दूतावास क्यानबेराले पनि स्टल राखेर आफूले प्रदान गर्दै आएका विभिन्न सेवाबारे जानकारी गराउनेछ। साथै, नेपाल पर्यटन बोर्डको तर्फबाट नेपाल भ्रमणसम्बन्धी जानकारीमूलक ब्रोसर तथा प्रचार सामग्री वितरण गरिनेछ।
डार्विनमा बसोबास गर्ने नेपाली समुदायको योगदानको सम्मानस्वरूप नर्दन टेरिटोरी सरकारले तीन वर्षका लागि २ लाख १० हजार अष्ट्रेलियन डलर आर्थिक सहयोग उपलब्ध गराएको छ। यही सहयोगका कारण अन्य अष्ट्रेलियाली राज्यहरूमा दुई वर्षमा एक पटक आयोजना हुने नेपाल फेष्टिभल डार्विनमा भने हरेक वर्ष आयोजना हुँदै आएको छ।
करिब १ लाख ८० हजार अष्ट्रेलियन डलर लागतमा सञ्चालन हुन लागेको यस वर्षको फेष्टिभलमा नेपाली तथा स्थानीय अष्ट्रेलियाली व्यवसायहरूको समेत उल्लेखनीय सहयोग रहेको आयोजकले जनाएको छ। संयोजक सापकोटाका अनुसार अष्ट्रेलियाका विभिन्न राज्यबाट ५० भन्दा बढी अतिथिहरू फेष्टिभलमा सहभागी हुन डार्विन आउने निश्चित भइसकेको छ।
पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए नर्दन टेरिटोरीका पूर्वसंयोजक सन्जीव गोर्खालीले नेपाल फेष्टिभल नेपाली समुदायलाई एकताबद्ध बनाउने र अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली पहिचानलाई थप स्थापित गर्ने प्रभावकारी माध्यम बनेको बताए। उनले नेपाली संस्कृति, कला र परम्पराको प्रवर्द्धनमा नेपाल फेष्टिभलले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे।
त्यसैगरी नेपाल फेष्टिभल संयोजक निरज देवकोटाले कार्यक्रमको ९० प्रतिशतभन्दा बढी तयारी पूरा भइसकेको जानकारी दिए। उनले डार्विनसहित अष्ट्रेलियाका विभिन्न राज्यबाट आउने अतिथिहरूलाई स्वागत गर्न आयोजक टोली पूर्ण रूपमा तयार रहेको बताउँदै नेपाल फेष्टिभलमा सहभागी हुन सम्पूर्ण समुदायलाई आग्रह गरे।
यस वर्षको नेपाल फेष्टिभलमा करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। फेष्टिभलमा नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्काउने प्रदर्शनी, नेपाली खानाका विभिन्न परिकार, हस्तकला, पर्यटन प्रवर्द्धन तथा विविध सांस्कृतिक कार्यक्रम समावेश गरिनेछन्।
फेष्टिभललाई थप आकर्षक बनाउन नेपालबाट चर्चित लोकगायक अर्जुन सापकोटा डार्विन आइपुगेका छन् भने स्थानीय कलाकारहरूले समेत आफ्नो प्रस्तुति तयारी पूरा गरिसकेका छन्। शनिबार मध्यान्हदेखि रातिसम्म सञ्चालन हुने कार्यक्रममा सांस्कृतिक प्रस्तुति, संगीत, मनोरञ्जनात्मक गतिविधि तथा भव्य आतिशबाजीको समेत व्यवस्था गरिएको छ।
आयोजकका अनुसार नेपाल फेष्टिभलले नेपाली समुदायबीच एकता, सांस्कृतिक संरक्षण तथा अष्ट्रेलियाली समाजसँगको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ। डार्विनको बहुसांस्कृतिक वातावरणमा नेपाली पहिचानलाई थप उजागर गर्ने लक्ष्यसहित आयोजना हुन लागेको फेष्टिभल यस वर्ष पनि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।











