नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले मन्त्रालयमै बसेर काम गर्ने बताएका छन्। मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारी क्वार्टर नपाएसम्म मन्त्रालयमै सुत्ने र बस्ने योजना रहेको बताएका हुन्।
“यहीँ सुत्ने हो, यहीँ बस्ने हो। सरकारले क्वार्टर दियो भने जाने हो। क्वार्टरमा भन्दा यहीँ बस्न पाएँ भने झन् खुसी हुन्छु,” भन्दै पुनले आफू कामलाई केन्द्रमा राखेर अघि बढ्ने बताए। उनले जाँगर चलेसम्म निरन्तर काम गर्ने र आवश्यक परे आराम गरेर पुनः काममा फर्किने आफ्नो कार्यशैली रहेको पनि उल्लेख गरे।
मन्त्री पुनले आफू लामो समयसम्म सत्तामा बस्ने सोचमा नभएको स्पष्ट पार्दै पाँच वर्ष मन्त्री भएर नबस्ने समेत बताएका छन्। उनको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा फरक र काममुखी सोचको रूपमा चर्चा गर्न थालिएको छ।











