शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं। अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री Sarah B. Rogers ले नेपाललाई अमेरिकाको एक महत्त्वपूर्ण र विश्वसनीय साझेदारका रूपमा चित्रण गर्दै प्रविधि, व्यापार, डिजिटल पहुँच र आर्थिक विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका प्रतिबद्ध रहेको बताएकी छन्।

तीनदिने नेपाल भ्रमणका क्रममा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा प्रविधि र नवप्रवर्तनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै देशको सूचना–प्रविधि क्षेत्रलाई भविष्यको ‘सिलिकन भ्याली’ बन्न सक्ने क्षमता भएको बताइन्। कृत्रिम बुद्धिमत्ता (AI) र डाटा सेन्टरजस्ता क्षेत्रमा लगानी आकर्षित गर्न अनुकूल व्यावसायिक वातावरण आवश्यक रहेको उनको भनाइ थियो।

बहुचर्चित स्टारलिंक सेवाबारे बोल्दै रोजर्सले नेपालका आन्तरिक प्रक्रिया र सार्वभौम निर्णयको सम्मान गर्ने बताइन्। अमेरिकी कम्पनीहरूले नेपालमा कहिले र कसरी लगानी गर्ने भन्ने विषय सम्बन्धित पक्षहरूकै निर्णयमा निर्भर रहने उनले स्पष्ट पारिन्।

उनले ५५ करोड अमेरिकी डलर बराबरको एमसीसी परियोजनालाई नेपालको ऊर्जा र आर्थिक विकासका लागि महत्त्वपूर्ण साझेदारीको उदाहरणका रूपमा उल्लेख गरिन्। अमेरिका अब परम्परागत सहायता मोडेलभन्दा व्यापार र समान साझेदारीको अवधारणामा अघि बढिरहेको भन्दै नेपालसँगको आर्थिक सम्बन्ध अझ सुदृढ बनाउने संकेत दिइन्।

इन्टरनेट स्वतन्त्रता र सामाजिक सञ्जाल नियमनका विषयमा बोल्दै रोजर्सले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण लोकतान्त्रिक समाजको आधार भएको बताइन्। गलत सूचना, ठगी वा बालयौन दुर्व्यवहारजस्ता अपराध नियन्त्रण आवश्यक भए पनि त्यसको नाममा अनावश्यक सेन्सरसिप हुन नहुने उनको धारणा थियो।

भूराजनीतिक प्रतिस्पर्धाबारे उठेको प्रश्नमा उनले अमेरिकाको प्राथमिकता केवल नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध रहेको बताइन्। नेपाल कहिल्यै उपनिवेश नबनेको ऐतिहासिक तथ्यको प्रशंसा गर्दै उनले नेपालको स्वतन्त्र पहिचान र सभ्यताको खुलेर सराहना गरिन्।

रोजर्सले सन् २०२५ मा १ लाख १२ हजार अमेरिकी पर्यटक नेपाल आएको उल्लेख गर्दै पर्यटन, सांस्कृतिक सम्पदा संरक्षण र जनस्तरको सम्बन्धले दुई देशबीचको मित्रतालाई अझ बलियो बनाएको बताइन्। आगामी वर्ष नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ८०औँ वार्षिकोत्सव मनाउने तयारी भइरहेका बेला द्विपक्षीय साझेदारी अझ फराकिलो र प्रभावकारी हुने विश्वास पनि उनले व्यक्त गरिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP