काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको टुंगो नलागिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यसै साता भारत भ्रमणमा जाने तयारीमा छन्। प्रधानमन्त्रीभन्दा अघि सत्तारुढ दलका प्रमुखको भारत भ्रमण हुन लागेकाले यसको राजनीतिक तथा कूटनीतिक अर्थबारे चर्चा सुरु भएको छ।
राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका जानकार डा. सञ्जीव हुमागाईंले यस्ता भ्रमणलाई अन्तर्राष्ट्रिय कूटनीतिमा सामान्य अभ्यासका रूपमा लिनुपर्ने बताएका छन्। उनका अनुसार सरकार प्रमुखभन्दा अघि पार्टी प्रमुखको भ्रमण हुनु कुनै अस्वाभाविक घटना होइन। तर, सरकारले चाहे यस्तो भ्रमणलाई अझ उच्च राजनीतिक र कूटनीतिक महत्व दिन सक्ने सम्भावना रहेको उनको भनाइ छ।
भारतका लागि पूर्वराजदूत लोकराज बरालले पनि यस प्रकारका भ्रमणलाई स्वाभाविक ठहर गरेका छन्। उनले विगतमा पनि प्रधानमन्त्रीभन्दा अघि राजनीतिक दलका शीर्ष नेताहरूले छिमेकी मुलुकहरूको भ्रमण गरेका उदाहरण प्रशस्तै रहेको स्मरण गराए। उनका अनुसार सत्तारुढ दलहरूबीच सम्बन्ध विस्तार र राजनीतिक संवादका लागि यस्ता भ्रमण उपयोगी हुने गर्छन्।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले भने सभापति लामिछानेको भारत भ्रमण पार्टीस्तरको रहेको स्पष्ट पारेका छन्। उनका अनुसार प्रधानमन्त्री शाह अहिले सरकारको पहिलो सय दिनको कार्ययोजनामा केन्द्रित रहेकाले विदेश भ्रमणको कार्यक्रम तय गरिएको छैन।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लामिछाने जेठ १८ गते भारत प्रस्थान गरी जेठ २० गते स्वदेश फर्कने सम्भावना छ। यद्यपि भ्रमणबारे नेपाल वा भारतका तर्फबाट औपचारिक घोषणा भने गरिएको छैन। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, केन्द्रीय मन्त्री नितिन गडकरी तथा अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी रहेको बताइएको छ।
यसअघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई सन्देशसहित भारत भ्रमणको निम्तो दिएका थिए। तर रास्वपाले सरकार गठनपछि कम्तीमा एक वर्षसम्म प्रधानमन्त्रीले विदेश भ्रमण नगर्ने नीति सार्वजनिक गरेको थियो। त्यसयता प्रधानमन्त्री शाहले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाटको परम्पराभन्दा फरक शैली अपनाएका छन् भने भारतसँग सम्बन्धित केही संवेदनशील विषयमा कडा अडान पनि लिएका छन्।
लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी विवाद, भारतीय विदेश सचिव विक्रम मिश्रीको स्थगित नेपाल भ्रमण तथा केही उच्चस्तरीय विदेशी प्रतिनिधिसँग प्रधानमन्त्रीको भेट नहुनुजस्ता घटनाले नयाँ सरकारको कूटनीतिक शैलीबारे थप बहस जन्माएको छ।
यही पृष्ठभूमिमा हुन लागेको रवि लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध, नयाँ सरकारको कूटनीतिक दृष्टिकोण तथा रास्वपाको अन्तर्राष्ट्रिय राजनीतिक पहुँचका दृष्टिले चासोपूर्वक हेरिएको छ।










