जारी युद्धविरामका बीच अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ। अमेरिकी सेनाका अनुसार इरानी मिसाइल भण्डारण गरिएका स्थान र समुद्री सुरुङ (माइन) राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गर्दै हमला गरिएको हो।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले विज्ञप्ति जारी गर्दै उक्त आक्रमण “आत्मरक्षाका लागि” गरिएको दाबी गरेको छ। सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले अमेरिकी सेना संयम अपनाउँदै आफ्ना फौजको सुरक्षा सुनिश्चित गरिरहेको बताएका छन्।
यो हमला इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका–इरान वार्तामा केही प्रगति भएको बताएपछि भएको हो। उनले द्वन्द्व अन्त्य गर्ने सम्भावित सम्झौता तत्काल हुन नसक्ने स्पष्ट पारेका थिए।
अमेरिकी सेनाका अनुसार आक्रमण इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकै गरिएको थियो। यो क्षेत्र इरानी नौसैनिक अड्डाको मुख्य केन्द्र मानिन्छ र होर्मुज जलडमरूमध्य क्षेत्रमा पर्दछ। यसअघि इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास क्षेत्रमा विस्फोटको आवाज सुनिएको र स्थानीय अधिकारीहरूले अनुसन्धान गरिरहेको बताएका थिए।
तर समाचार तयार पार्दासम्म इरानले अमेरिकी आक्रमणबारे औपचारिक प्रतिक्रिया दिएको छैन। यस घटनाले अमेरिका–इरानबीच सम्भावित शान्ति सम्झौतामा कस्तो असर पार्ने हो भन्ने अझै स्पष्ट छैन।
आक्रमणपछि अमेरिकी विदेशमन्त्री Marco Rubio ले भने शान्ति सम्झौताको सम्भावना अझै जीवित रहेको बताएका छन्। भारत भ्रमणमा रहेका रुबियोले पत्रकारहरूसँग कुरा गर्दै प्रारम्भिक दस्तावेजको भाषाबारे व्यापक छलफल भइरहेको र सहमतिमा पुग्न केही दिन लाग्न सक्ने बताएका हुन्।
उनले अमेरिकी राष्ट्रपति Donald Trump सम्झौता गर्न इच्छुक रहेको पनि उल्लेख गरे। “उहाँले या त राम्रो सम्झौता गर्नुहुन्छ, या सम्झौता नै हुँदैन,” रुबियोले भने।
यसअघि सप्ताहन्तमा ट्रम्पले अमेरिका र इरान दुवै पक्ष शान्ति सम्झौताको नजिक पुगेको संकेत दिएका थिए। तर पछि उनले वार्ताकारहरूलाई “हतार नगर्न” निर्देशन दिएको बताएका थिए। रुबियोले सोमबारसम्म सहमति हुन सक्ने संकेत पनि दिएका थिए।
यता इरानी प्रवक्ता बकाईले भने अधिकांश विवादित विषयमा निष्कर्ष नजिक पुगे पनि तत्काल सम्झौता हुने अवस्था नरहेको बताएका छन्।
वार्तामा छलफल भइरहेको प्रारम्भिक समझदारीपत्र (मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ) मा ६० दिनका लागि युद्धविराम थप गर्ने, होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने प्रस्ताव समावेश रहेको बताइएको छ।










