मेलबर्न / चन्द्र गुरुङ्ग
१४ वर्षीया नेपाली टेनिस खेलाडी शिवाली गुरुङ पहिलो पटक नेपाली खेलाडीका रूपमा अस्ट्रेलियन ओपनसँग आबद्ध ‘एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर’ टेनिस प्रतियोगितामा सहभागी भएकी छन्। प्रतियोगिताका लागि मेलबर्न पुगेकी शिवालीले बुधबार (जनवरी २८) पहिलो चरणको खेल सफलतापूर्वक सम्पन्न गरिसकेकी छन्, जहाँ उनले चीनकी खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्।
यसै अवसरमा तमु समाज भिक्टोरियाले शिवाली गुरुङ र उनका पितालाई मेलबर्न विमानस्थलमै आत्मीय स्वागत तथा अभिनन्दन गरेको छ। स्वागतपछि तमु समाज भिक्टोरियाले मेलबर्नमा बसोबास गर्ने गुरुङ समुदायलाई सहभागी गराउँदै शिवालीको सम्मानमा विशेष भेटघाट तथा डिनर कार्यक्रम आयोजना गरेको थियो।

उक्त कार्यक्रममा करिब ४५ जना गुरुङ समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित तमु समाज भिक्टोरिया तथा गुरुङ समुदायले शिवाली गुरुङको आगामी खेलहरूका लागि शुभकामना व्यक्त गर्दै AUD 1000 (एक हजार अस्ट्रेलियन डलर) संकलन गरी सम्मान तथा हौसला स्वरूप हस्तान्तरण गरेका थिए।
कार्यक्रममा तमु समाज भिक्टोरियाका अध्यक्ष तेज गुरुङ, सचिव अरुण गुरुङ तथा सह–सचिव अशोक गुरुङले शिवाली गुरुङको खेलकुद यात्राको प्रशंसा गर्दै बाँकी चरणका खेलहरूमा उत्कृष्ट प्रदर्शनको कामना गरे।

कार्यक्रमका प्रमुख अतिथि नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मुल्मीले प्रवासमा रहेका नेपाली समुदायले खेलकुद प्रतिभालाई दिएको समर्थन उदाहरणीय रहेको उल्लेख गर्दै शिवाली गुरुङले अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलकुदको पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमको समन्वय अशोक गुरुङ र गाम गुरुङले गरेका थिए।
तमु समाज भिक्टोरियाले आगामी दिनहरूमा पनि नेपाली खेलाडी तथा प्रतिभा प्रवर्द्धनका लागि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।








