आइतबार , बैसाख ७, २०८२

विराटनगर । संखुवासभा कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा बिहीबार रिहा भएका छन् । तर प्रदेश १ का विभिन्न कारागारमा रहेका ३६ नेता कार्यकर्ता अझै छुट्न सकेका छैनन् ।

एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा रहेका माइला लामा बिहीबार २५ हजार धरौटीमा रिहा भएका हुन् ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच विप्लव समूह शान्ति प्रकृयामा आएसँगै कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्ने सहमति भएको थियो । तर प्रदेश १ का कारागारमा रहेका सो समूहका नेता–कार्यकर्ताको रिहाइ प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

सरकार र विप्लव समूहबीच भएको सहमतिअनुसार गृह मन्त्रालयले विप्लव समूहका नेता, कार्यकर्ता रिहाइ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरिसकेको छ ।

प्रदेश १ का सबै जिल्ला प्रशासन कार्यालयले कारागारमा रहेका विप्लवका नेता कार्यकर्ताको संख्यासहितको रिपोर्ट मन्त्रालयमा पठाए पनि रिहाइको थप प्रक्रिया भने अघि बढेको छैन ।

विप्लव समूहको दोस्रो वरीयताका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’, पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, सेती महाकाली ब्युरो सदस्य विवेक कुमाललगायतका नेताहरु भने रिहा भइसकेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले गृह मन्त्रालयले मोरङ कारागारमा रहेका विप्लवका नेता तथा कार्यकर्ताको संख्या मागेको र सो संख्या पठाइएको जानकारी दिए । त्यसपछि गृहबाट आवश्यक प्रकृया पूरा गरी उनीहरुलाई रिहाइ गर्नू भन्ने कुनै परिपत्र या निर्देशन नआएको उनले बताए ।

निरौलाका अनुसार मोरङ कारागारमा विप्लवका पाँच नेता कार्यकर्ता छन् ।

विप्लव समूहसँग सरकारको सहमति भए पनि जघन्य अपराधमा मुद्दा चलेका नेता कार्यकर्ताको रिहाइमा कानुनी जटिलता रहेको उनले बताए ।

सरकारबाट मुद्दाको प्रकृति छुट्याएर हालसम्म राजनीतिक आस्थाका कारण मुद्दा लगाएका नेता, कार्यकर्ताहरूलाई छाडेको छ ।

हालसम्म सो समूहका ११ जना नेता, कार्यकर्ता छुटिसकेका छन् ।

प्रहरी प्रधान कार्यालयको रेकर्डमा विप्लव समूहका ११४ जना नेता तथा कार्यकर्ता अझै थुनामा देखिन्छ । तीमध्ये प्रदेश १ का कारागारमा मात्र ३६ जना छन् ।

विप्लव समूहको मेची कोशी ब्युरो कमिटीका सदस्य विवश चौलागाईंले कारागारमा रहेका नेता कार्यकर्ताको रिहाइमा ढिला हुनु ठीक नभएको बताए ।

खाँदबारी कारागारमा विप्लव समूहका संखुवासभा जिल्ला इन्चार्ज देव गुरुङसहित १० नेता कार्यकर्ता रहेकोमा माइला लामामात्र रिहा भएको चौलागाईंले जानकारी दिए ।

विप्लवका केन्द्रीय नेता लामा २०७६ साउन ५ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई विभिन्न जिल्ला हुँदै संखुवासभा ल्याइएको हो । जिल्ला अदालत चैनपुरले संगठित रुपमा हातहतियार ओसारपसार, संचय तथा प्रयोग मुद्दामा २५ हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

२५ हजार धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत चैनपुरले २०७६ साल फागुन ७ गते उनलाई कारागार चलान गरेको हो ।

लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघको अध्यक्षसमेत थिए ।

पार्टी विभाजनपछि उनी मोहन वैद्य हुँदै विप्लव समूहमा लागेका थिए ।

खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले माइला लामामात्र धरौटी बुझाएर रिहा भएको तर अरुको रिहाइबारे अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र नआएको बताए ।

अलमलमा प्रहरी

विप्लव समूहले २३ मंसिर २०७७ मा मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या ग¥यो ।

मिक्लाजुङ–१, बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई घरबाटै अपहरण गरी हत्या गरिएको थियो ।

घटनामा संलग्नता देखिएपछि ७ माघ २०७७ मा विप्लव समूहका मोरङका तत्कालीन जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पक्राउलाई प्रहरीले पक्राउ ग¥यो ।

हाल पुर्पक्षका लागि जिल्ला कारागार मोरङमा रहेका उनी शिक्षक श्रेष्ठलाई अपहरण गर्ने ६ जनामध्ये एक भएको प्रहरी बताउँछ ।

अन्य ५ जनाको खोजी जारी भएकै बेला सरकार र विप्लव समूहबीच सहमति भयो । अब उनीहरुलाई भेटिएमा पक्राउ गर्ने कि नगर्ने भन्नेमा प्रहरी नै अन्योलमा छ ।

‘शान्तिपूर्ण राजनीतिमा आउने गरी सहमति भएसँगै पक्राउ नपरेका प्रतिवादीको हकमा केही गरेका छैनौं’, मोरङका एसपी सन्तोष खड्का भन्छन्, ‘अब माथिबाट कस्तो कार्यविधि र निर्देशन आउँछ, त्यही अनुसार गर्छौं ।’

शिक्षक श्रेष्ठकी पत्नी धनमायाले पार्टी शान्ति प्रक्रियामा आए पनि न्याय नमरोस् भनेकी छन् । ‘अहिलेसम्म एक जनामात्र समातिएका छन्’, उनले रातोपाटीसँग भनिन्, ‘अब प्रहरीले हत्यारालाई छाड्ने होइन, अरुलाई पनि खोजी गरेर कारबाहीको दायरामा ल्याओस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP