मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेको ११औं महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको ध्रुवीकरण तल्लो तहसम्मै देखिन थालेको छ। महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा संस्थापन र संस्थापनइतर पक्षले विभिन्न जिल्लामा प्यानल बनाएर प्रतिस्पर्धा गरेको चित्र स्पष्ट बन्दै गएको हो।

कोशी प्रदेशअन्तर्गत पहाडी जिल्लाहरू—ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, खोटाङ र सोलुखुम्बु—मा प्रतिनिधि सर्वसम्मत रूपमा चयन भए। तर तराईका केही जिल्लामा भने प्रतिस्पर्धा र विवाद दुवै देखिएका छन्।
ओखलढुंगा र धनकुटामा मतदानसमेत भएको र दुवै जिल्लामा विवाद उत्पन्न भएको पार्टी नेतृत्वले जनाएको छ। धनकुटामा मतपत्र च्यातिएको घटना बाहिरिएको छ भने ओखलढुंगामा खसेको भन्दा बढी मत देखिएको भन्दै गुनासो आएको छ।

प्रतिनिधि छनोटमा संस्थापन पक्ष र इतर पक्ष दुवैले आफ्नो पक्षका बहुसंख्यक उम्मेदवार विजयी भएको दाबी गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा ओली पक्षको दबदबा बलियो देखिएको छ भने इतर पक्षका नेता विनोद ढकालको गृहक्षेत्र मोरङ ६ मा ढकाल पक्षले क्लिन स्वीप गरेको छ।

मोरङ ६ मा भएको निर्वाचनमा विनोद ढकालले १ हजार ५२७ मतसहित सर्वाधिक मत प्राप्त गरेका छन्। सोही प्यानलबाट पितकुमार श्रेष्ठ, रमेशकुमार पोखरेल र सत्यनारायण चौधरी पनि विजयी भएका छन्। महिला र युवा तर्फ पनि पोखरेल–ढकाल प्यानलकै उम्मेदवार चयन भएका छन्।

झापामा करिब सबै क्षेत्रमा ओली पक्षको प्रभाव देखियो।
झापा–१ बाट खुला, महिला र युवा गरी ६ जना प्रतिनिधि सबै ओली पक्षका विजयी भए।
झापा–३ र ४ मा पनि खुला, महिला तथा युवा कोटाका अधिकांश प्रतिनिधि ओली पक्षकै बने।
झापा–५ मा पनि खुला, महिला र युवा सबैतर्फ ओली पक्षकै अग्रता रह्यो।

झापाबाट दुई दलितसहित ३८ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। दलिततर्फ सर्वसम्मत भएपछि बाँकी ३६ जनामा मतदान भएको थियो।

यसैगरी इलामका दुईवटै क्षेत्रबाट सबै प्रतिनिधि सर्वसम्मतरूपमा चयन भएका छन्। खुला, महिला, दलित र युवा सबै कोटामा उम्मेदवार बिना प्रतिस्पर्धा चयन भएका हुन्।

एमालेभित्र महाधिवेशन नजिकिँदै जाँदा देखिएको यस्तो ध्रुवीकरणले नेतृत्व चयनका क्रममा प्रतिस्पर्धा अझै कडा हुने संकेत गरेको बुझिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP