शनिबार , भाद्र १३, २०८३

कास्की — ‘फ्लोर क्रस’ र सत्तारुढ दलको प्रलोभनमा पर्ने डरले गण्डकी प्रदेशमा विपक्षी दलका सांसदलाई होटलमा राखिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा टेबुल भएपछि सत्ता पक्षले सांसदलाई प्रलोभनमा पार्न सक्ने भन्दै होटलमा राखिएको हो । तर माओवादी केन्द्रका सांसद दीपक कोइरालाले टाढाबाट आउने सांसदलाई आउजाउ गर्न समस्या हुने भएकाले होटलमा बस्ने व्यवस्था गरिएको बताए ।

अर्थ विकास समिति सभापतिसमेत रहेका कोइरालाले भने, ‘होटलमा हाम्रो मिटिङ र छलफल हो । सांसदलाई कसैले बन्धक बनाएर राखेको छैन । पोखरा घर र कोठा नहुने बाहिरी जिल्लाका सांसदलाई धपेडी हुने भएकाले बस्ने व्यवस्था गरिएको हो ।’ पोखराको लेकसाइडस्थित होटल कुटीमा माओवादी र कांग्रेसका सांसद राखिएको छ ।

जनता समाजवादी पार्टीका सांसदलाई भने कुटी नजिकै अर्को होटलमा राखिएको एक सांसदले जानकारी दिए । उनका अनुसार कांग्रेस सांसद विन्दुकुमार थापाले होटल खोजेर बस्ने व्यवस्था गरेका हुन् । ती सांसद भन्छन्, ‘होटलको सबै खर्च संसदीय दलले ब्यहोर्ने कुरा भएको छ । संसदीय दलसँग पैसा नभए हामी आफैं ब्यहोर्ने त होला ।’

माओवादी केन्द्र र कांग्रेसले आफ्ना सांसदलाई पोखरा नछाड्न निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले एक आपसमा छलफल गर्नुपर्ने भएकाले सबैजना सँगसँगै रहेको बताए । ‘छलफल गरौं, बैठक बसौं भने पनि को कहाँ को कहाँ हुने’ उनले भने, ‘यसैले सबैजना एकै ठाउँ रहेका हौं ।’

सोमबारदेखी सांसदलाई होटलमै राखिएको छ । उनीहरु अविश्वासको प्रस्तावमाथि मतदान हुने बेलासम्म होटलमा नै रहनेछन् । अविश्वासको प्रस्तावमाथि बुधबार मतदान हुनेछ । कांग्रेस, माओवादी र जसपाका २८ सांसदको हस्ताक्षरसँगै सरकारविरुद्ध वैशाख २ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभामा कांग्रेसका १५, सभामुखसहित माओवादीका १२, जनता समाजवादीका २ सांसद छन् । यी मोर्चामा मिसिएको राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् । तर जनमोर्चाका सांसद भने होटलमा बसेका छैनन् । जनमोर्चाका कृष्ण थापाले पार्टीको केन्द्रीय निर्णयअनुसार अविश्वास प्रस्तावको पक्षमा नै आफ्नो मतदान हुने बताए ।

प्रदेश सभाको विशेष अधिवेशन सोमबारदेखि सुरु गरिएको हो । मंगलबारको बैठक सत्तारुढ दल एमालेले सबै सांसदको पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै अवरुद्ध गरेको छ । सत्तारुढ दलले संसद् अवरुद्ध गरेको गण्डकीमा पहिलोपटक हो । गण्डकीमा एमालेका २७ सांसद छन् भने स्वतन्त्र १ सांसद छन् । मनाङबाट स्वतन्त्र चुनाव जितेका दीपक मनाङे स्वतन्त्र हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP