नेकपा एमालेको आगामी केन्द्रीय कमिटी बैठक र विधान महाधिवेशनमा विद्या भण्डारीको पक्षमा खुलेका नेताहरूले अलग्गै प्रतिवेदन लैजाने तयारी गरेका छन्।
अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको नवीकरण भइसकेको सदस्यता रोकेको, मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई कमजोर बनाउने योजना अनुसार गतिविधि गरेको निष्कर्ष निकाल्दै उनीहरूले फरक प्रतिवेदन ल्याउने भएका हुन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे सो प्रतिवेदनको तयारीमा जुटेको नेताहरू बताउँछन्।
च्यासलको ढोका बन्द भएपछि थापागाउँमा छुट्टै सम्पर्क कार्यालय खोलेकी भण्डारीले त्यहीँबाट राजनीतिक गतिविधि अघि बढाइरहेकी छन्।
उनको पक्षमा खुलेका एक नेताले दिएको जानकारी अनुसार भदौ १३ गते बस्ने केन्द्रीय कमिटी बैठकमा भण्डारीलाई सदस्यता रोकेको विषयमा नेताहरूले कुरा उठाउनेछन्।
‘ईश्वर पोखरेलको नेतृत्वमा फरक प्रतिवेदन जान्छ, अब बस्ने केन्द्रीय कमिटी बैठकमा उहाँले प्रस्तुत गर्नुहुन्छ,’ ती नेताले नेपालखबरसँग भने, ‘अरु मुद्दा अहिले नउठाउने, विद्या भण्डारीको सदस्यता रोक्ने निर्णयका विषयमा कुरा उठाउने।’
केन्द्रीय कमिटीले विधान महाधिवेशनका लागि तल्ला तहबाट माग गरिएको सुझावलाई परिमार्जन गरेर पास गर्ने उपाध्यक्ष गुरु बरालले जानकारी दिए। गत साउन ६ गतेको केन्द्रीय समिति बैठकले अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनमाथि छलफल गरेर संशोधन सहित पारित गरेको थियो। तिनै प्रतिवेदनमाथि प्रदेश र जिल्ला कमिटीबाट सुझाव माग गरिएको छ।
बरालका अनुसार भदौ १० गतेसम्म प्राप्त भएका सुझावहरू अब बस्ने केन्द्रीय कमिटीमा पेस गरेर परिमार्जनसहित पास गर्ने र विधान महाधिवेशनमा पेस गरिने छ।
ओली पक्षको प्रतिवेदन हेरेर सोही अनुरूप भण्डारी पक्षबाट पोखरेलले नयाँ प्रतिवेदन पेस गर्नेछन्।
‘उहाँहरूले प्रस्तुत गर्ने प्रतिवेदनहरू कसरी आउँछन्, अनि छलफल गरेर छुट्टै प्रतिवेदन बनाउनुहुन्छ,’ अर्का नेताले भने।
त्यसपछि विधान महाधिवेशनमा ती दस्तावेज पेस हुने उनले बताए। जे परे पनि लड्नुपर्ने निचोडमा पुगिएको भण्डारी पक्षमा लागेका नेताहरूको भनाइ छ।
‘आगामी विधान महाधिवेशनमा विद्या भण्डारीको तर्फबाट विचार, राजनीतिक कार्यक्रम भएको छुट्टै दस्तावेज बन्छ,’ एक नेताले भने, ‘युवराज र सुरेन्द्र कमरेडले केन्द्रीय कमिटी बैठकमै पेस गर्नुभएको फरक मत छँदैछ। अब ईश्वर कमरेड त्यसको तयारीमा हुनुहुन्छ। विधान महाधिवेशनमा भण्डारी पक्षबाट अलग डकुमेन्ट जान्छ, र त्यसलाई हलमा वितरण गर्छाैँ।’
यद्यपि, प्रतिवेदनमा केके समावेश हुन्छ भन्ने खुलाइएको छैन।
भण्डारी पक्षले ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान विधानमा राख्नुपर्ने अडान लिएको छ। तर, साउन ६ गतेको केन्द्रीय कमिटी बैठकले त्यसलाई हटाउने निर्णय गरिसकेको छ।
तर, विधान महाधिवेशनबाट सो प्रावधानलाई फेरि समावेश गर्न सकिने उनीहरूको बुझाइ छ।
भदौ ५ गते सम्पर्क कार्यालय उद्घाटनको दिनमा उत्साहजनक सहभागिता भएको भन्दै भण्डारी पक्ष आशावादी देखिएको छ।
‘माहोल घटेको छैन। विद्या भण्डारी कमरेडमाथि अन्याय भयो भन्नेमा अधिकांश नेता हुनुहुन्छ तर बोल्न सक्नुभएको छैन,’ स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भने।
लामो समय सँगै काम गरेकाले ओलीका आनीबानीबारे भण्डारी जानकार छिन्। तर, ओली नै आफूलाई रोक्न खोजेको देखेर उनी आश्चर्यमा परेको नेताहरूको भनाइ छ।
दुई वर्षअघि फटाफट सदस्यता नवीकरण हुँदा केही नबोलेका ओलीले यसवर्षको नवीकरण रोक्न गरेको जोडबल स्वाभाविक नभएको उनीनिकट नेता बताउँछन्।
‘ओली कमरेडले त्यतिकै छोड्दैनन्, अलि दबाब दियो भने छलफल गर्न आउँछन्, पर्याप्त दबाब चाहिन्छ उहाँलाई,’ भण्डारी पक्षका अर्का नेताले भने, ‘केन्द्रीय कमिटी बैठकमा धेरै केन्द्रीय सदस्यलाई बोल्न लगाएर अलि दबाब दिन सकिन्छ कि भन्ने छ, हेरौँ।’
शुक्रबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध हुन सहयोग गर्नुपर्नेमा भण्डारीले असन्तुष्ट र हारेका मानिसलाई भेला गरेर समस्या खडा गरेको टिप्पणी गरेका थिए।
भण्डारीले स्वेच्छाले सदस्यता छाडेको र त्यो नवीकरण नहुने पनि प्रस्ट पारेका थिए।
‘तपाईंसँग सदस्यता नै छैन भने कहाँबाट नवीकरण हुन्छ। उहाँले २०७२ साल कात्तिक १२ कि १३ गते सदस्यता छाडेको हो। त्यसयता उहाँको सदस्यता छैन,’ ओलीले भने, ‘राष्ट्रपति हुन नजानुपर्थ्यो नि त। पार्टी सदस्यता नवीकरण गर्ने हो भने उहाँले पार्टीमा निवेदन दिनुपर्थ्यो। कार्यालय आएर दर्ता चलानी फाँटबाट नवीकरण गरेँ भनेर शुल्क तिर्दैमा सबैको सदस्यता नवीकरण हुन्छ? यो भ्रममा कोही नपर्नुहोला। पार्टीले दुईपटकसम्म राष्ट्रपति बनायो। त्यस्तो व्यक्ति फर्केर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कुरा कल्पनासमेत गरिएको थिएन।’
ओलीले निकै तल झरेर टिप्पणी गरेको भण्डारी पक्षका नेता बताउँछन्।
‘केपी ओलीलाई के भइरहेको हो बुझ्न सकेको छैन, उहाँ एक्स्ट्रिममै पुग्नुभएको छ,’ अर्का नेताले भने।








