सिड्नी – आगामी ३१ अगस्टमा अष्ट्रेलियाका प्रमुख सहरहरूमा आयोजना हुन लागेको ‘March for Australia’ नामक आप्रवासीविरोधी प्रदर्शनप्रति गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाले कडा आपत्ति जनाएको छ।
संघले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ,
“यस्ता प्रदर्शनहरूले आप्रवासी समुदायलाई लक्षित गर्दै सामाजिक विभाजन र घृणालाई प्रोत्साहन दिन्छन्, जसले अष्ट्रेलियाको बहुसांस्कृतिक र समावेशी समाजलाई क्षति पुर्याउँछ।”
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले भने,
“आप्रवासीहरूले अष्ट्रेलियामा रोजगारी, व्यवसाय, कर प्रणाली र सामाजिक जीवनमा उल्लेखनीय योगदान पुर्याएका छन्। उनीहरूलाई नकारात्मक रूपमा चित्रण गर्नु अन्यायपूर्ण मात्र होइन, अष्ट्रेलियाको साझा मूल्यको अवमूल्यन पनि हो।”
संघले आप्रवासी समुदायबीच एकता, सद्भाव र सक्रिय सहभागितालाई बलियो बनाउन आग्रह गर्दै, प्रदर्शनले ल्याउन सक्ने नकारात्मक प्रभावबारे गम्भीर चिन्ता व्यक्त गरेको छ।
अस्ट्रेलिया बहुसांस्कृतिक मुलुक हो जहाँको अधिकांश जनसंख्या विभिन्न देशबाट बसाइँ सरेका हुन्।








